काठमाडौँ - भूमिका गिरी र प्रकाश दूतराजको स्वरमा ३ दिनअघि एउटा लोकदोहोरी गीत सार्वजनिक भएको छ, ‘देउरालीमा’। वसन्त विश्वकर्माले कोरेका शब्दमा प्रकाश स्वयंले संगीत भरेर छन् र भूमिका गिरीसँग स्वर भरेका छन् । गीतलाई एरेन्ज भने कृष्ण भान्जाले गरेका हुन्।
तिहारको अवसर पारेर सार्वजनिक गरिएको ‘देउरालीमा’ एउटा प्रेमगीत हो। जसमा ग्रामीण भेगका एक प्रेमजोडीको प्रेमभाव अनि नोकझोकलाई प्रस्तुत गरिएको छ। हराउँदै गएको परम्परागत पानीघट्टको आलोकमा टेकेर यसको भिडियोको कथा बुनिएको छ। मौसम हिमालीको कथा एवं निर्देशनमा तयार भिडियोमा भूमिका र प्रकाश स्वयं प्रस्तुत छन्।
भूमिका र प्रकाशको सहकार्य रहेको गीत ‘चोली मैलै भो’ स्रोता दर्शकमाझ निकै हिट छ। ‘चोली मैलै भो’पछि स्वर र अभिनयमा भूमिका र प्रकाशले ‘देउरालीमा’ गीतमा सहकार्य गरेका हुन्। ग्रामीण परिवेशमा रहेर मौलिक गीत ल्याउँदै आएका प्रकाशको ‘देउरालीमा’ गीत पनि उत्तिकै मौलिक लाग्छ।
निर्देशकका रूपमा मौसमले राम्रो गरेका छन्। जुग फेरिए पनि, प्रविधि आधुनिक आए पनि पुराना परम्परागत प्र्रविधिको पनि संरक्षण गर्नुपर्छ भन्ने सन्देश समेत भिडियोले प्रवाह छ। टिकटकमा गीत राम्रै चलेको छ।
‘भूमिका गिरी’ यूट्युब च्यानलमा सार्वजनिक भिडियोले ४ लाख बढी ‘भ्युज’ पाइसकेको छ। पछिल्लो समय यूट्युबमा म्युजिक भिडियोले भ्युज नपाइरहेको अवस्थामा ‘देउरालीमा’ गीतको भ्युजलाई राम्रो मान्न सकिन्छ।