सङ्कटमा दुर्लभ पंक्षी चिरकालिज

काठमाडौँ - दुर्लभ मानिने चिरकालिज पछिल्ला केही वर्षयता उचित वातावरणको अभावका कारण लोप हुने अवस्थामा छ। केही वर्षअघिसम्म यहाँका उच्च पहाडी भेगमा प्रशस्तै सङ्ख्यामा पाइने चिरकालिज पछिल्लो समय मुस्किलले देख्न पाइन्छ।

बिहान सूर्योदय हुनुभन्दा अगाडि र साँझमा सूर्यास्त भएपछि दिनको दुईपटक मात्र चिरचिर गरेर कराउने भएकाले यसलाई चिरकालिज भनिएको हो। चिरकालिजको अवस्था, बासस्थान, सङ्ख्या र लोप हुनाको कारणबारे अनुसन्धान भने हुन सकिरहेको छैन। ‘क्याट्रस वालिचि’ वैज्ञानिक नाम रहेको यस पक्षीलाई अङ्ग्रेजीमा चिरफेजेन अर्थात् नेपालीमा चिरकालिज र सुदूरपश्चिमा चेडु चराको नामले चिनिने गरिएको पाइन्छ। यो पक्षी नेपाल वन्यजन्तु संरक्षण ऐनमा संरक्षित पक्षीको सूचीमा सूचीकृत छ। नेपालमा यो पक्षी समुद्री सतहबाट एक हजार ४०० मिटरदेखि तीन हजार ६०० मिटरसम्मको भू–भागमा पाइने लामो समयदेखि पर्वतमा वनजङ्गलको क्षेत्रमा काम गर्दै तत्कालीन डिभिजन वन अधिकृत हरिशचन्द्र सापकोटाले बताए।

नेपालका विभिन्न जिल्लामा दुईदेखि तीन हजारको हाराहारीमा रहेको यो पक्षी पर्वतका उच्च पहाडी क्षेत्रमा देखिन्छ। उत्तरी पर्वतको शालिजा, लेखफाँट, हम्पालको लेकलगायत पञ्चासेको लेक, डहरेदेउराली, गोल्र्याङ र चिसापानीलगायतका जङ्गलमा पाइने अधिकृत सापकोटाले बताए। सामान्य कालिजजस्तै यो तल्लो तटीय क्षेत्रमा पाइँदैन। उनले भने, “यो चरा झट्ट हेर्दा कालिजको पोथीजस्तै देखिए पनि कालिज र चिरकालिजमा धेरै भिन्नता रहेको पाइन्छ।” यो कालिजको भालेको पुच्छर लामो, आँखाको रङ पनि रातो हुने, शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ भने आकारमा पोथी भालेभन्दा सानो र पुच्छर पनि छोटो हुन्छ। यसले विशेषगरी चैतदेखि जेठसम्म मात्रै फुल पार्ने र बच्चा कोरल्ने गरेको अनुसन्धानकर्ताहरूको भनाइ छ।

यो पंक्षी मुख्यगरी मध्यपहाडको माथिल्लो भेगका जङ्गल नभएको खुला भिर, खरबारी र अलिअलि झाडी भएको ठाउँमा पाइने गर्छ। ठूला–ठूला जङ्गलको पुछारमा हुने खर्कहरूमा यसलाई देख्न सकिने पर्वतको राम्जादेउरालीका रमेश शर्माले बताए। उनले भने, “१०–१२ वर्ष अघिसम्म हामी जङ्गल जाने क्रममा सडक छेउछाउँमा भेटिन्थ्यो, तर आजकल देखिँदैने, अरु कालिजभन्दा यो लोपोन्मुख भएर होला।” भिरमा नै बासस्थान बनाउने यो पक्षीले एक पटकमा सात देखि १५ वटासम्म फुल पार्ने गरेको अनुसन्धानकर्ताहरू बताउँछन्। चिरकालिज नेपालमा मुख्यगरी अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन शिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्जका साथै संरक्षित क्षेत्रभन्दा बाहिर पर्वत सँगै म्याग्दी र बागलुङ तथा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा पाइने अनुसन्धानबाट देखिन्छ। पर्वतमा यो कालीगण्डकी नदि, मोदीखोला र पातीखोलाको किनारमा पनि पाइएको वन अधिकृत सापकोटाले बताए।

अवैधरूपमा चोरी शिकारी, वनजङ्गलमा आगलागी, बासस्थानको ह्रास र जनचेतना अभावका कारण यो पक्षी लोपोन्मुख अवस्थामा पुगेको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×