काठमाडौँ । चौध महिनाको बच्चाकी आमा रीता चौधरीलाई यसअघि बच्चा स्याहार गरिरहे पनि ‘धेरै कुरा सिकेको रहेनछु ’भन्ने लागिरहेको छ।
कैलालीको टीकापुर–४ की उनलाई आइतबार वडा नं ४ मा भएको गाउँघर क्लिनिकमा स्वास्थ्यकर्मी तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाले जाउलो पकाउन सिकाए। जाउलो पकाउने तरिका सिकेपछि उनलाई लाग्यो आफूले त पोषणयुक्त खानेकुरा मिसाएर खुवाउन जानेकै रहेनछु। “विगतमा मैले बच्चालाई खुवाउने तरिका र अहिले जाउलो पकाउन सिक्दा धेरै फरक रहेछ”, उनले भनिन्, “जाउलोमा जे घरमा छ त्यही खानेकुरा हाले पकाएर खुवाउँथेँ। बच्चाको खानपान तथा स्वास्थ्यमा लापरवाही गर्न हुने रहेनछ। बच्चालाई आवश्यक पोषणयुक्त खाना मिसाउन जरुरी छ भन्ने सिकेँ।”
त्यस्तै, १३ महिनाको बच्चाकी आमा प्रिया चौधरीले छ महिनासम्म आफ्ना दूधमात्रै खुवाएकी थिइन्। छ महिनापछि अन्य खानेकुरासमेत खुवाउन थालेकी उनले बच्चा स्याहारबारे थप ज्ञान सिकेकी छन्। “पहिला म दाल, चामल र साग मिसाएर जाउलो पकाउँथे, नरम खाना भए पुग्छजस्तो लाग्थ्यो”, उनले भने, “यहाँ आएपछि थाहा पाए, कम्तीमा चार प्रकारका खाना मिसाएर बच्चालाई खुवाउनुपर्ने रहेछ, जाउलोमा चामल, विभिन्न थरिका मिसाइएका दाल, सागपात, अण्डा मिसाएर पकाउनुपर्छ। जुन खाना बच्चालाई पोषिलो हुन्छ।”
टीकापुर नगरपालिकाबाट खटिएका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयं सेविकाले हरेक वडामा रहेका गाउँघर क्लिनिकमा जाउलो पकाउन सिकाएपछि हजार दिनका आमा बच्चा कसरी स्याहार्ने भन्नेमा थप सचेत भएको बताउँछन्। “मेरो पहिलो बच्चालाई मैले राम्ररी स्याहार गरिन भनेर पछुतो लाग्छ, अहिले दोस्रो बच्चा आठ महिनाको छ, अहिले राम्ररी स्याहार्न सिकेकी छु”, टीकापुर–५ की सन्ध्या विकले भने, “बच्चाको पोषणमा दुई वर्षभित्रै ध्यान दिनुपर्ने रहेछ भन्ने सिकाइ भएको छ। पहिलो बच्चा राम्ररी नस्याहारेका कारण कमजोर छ बिरामी भइरहन्छ। अब दोस्रो बच्चा राम्ररी स्याहार्न थालेकी छु।”
नगरपालिकाले बच्चाको पोषण सुधारका क्षेत्रमा योजना बनाएर काम गरिरहेको छ। नगरपालिकामा सङ्घीय सरकारमार्फत बहुक्षेत्रीय पोषण योजनाका आंशिक कार्यक्रम सञ्चालनमा छन्। त्यसबाहेक पनि नगरपालिकाले आफ्नै स्रोतबाट पनि कुपोषण न्यूनीकरणका लागि जनचेतना वृद्धि गर्ने, खानपानमा बानी सुधार गर्ने, पोषिलो खाना दिनेलगायतका विभिन्न कार्यक्रम गर्ने गरेको छ। हरेक महिना हुने गाउँघर क्लिनिकमा हजार दिनका आमालाई बच्चालाई खुवाउने जाउलो पकाउन सिकाइन्छ।
स्वास्थ्यकर्मी र सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाले गाउँघर क्लिनिकमा हजार दिनका आमाहरुलाई जाउलो पकाउन सिकाउने गर्दछन्।