एजेन्सी। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले बुधबार मालीमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमाथि भएको श्रृंखलाबद्ध आक्रमणको कडा निन्दा गरेको छ। एक विज्ञप्तिमा, सुरक्षा परिषद्का सदस्यहरुले शोकसन्तप्त परिवारहरु, साथै इजिप्ट, माली, टोगो र मालीमा रहेको संयुक्त राष्ट्रसंघको बहुआयामिक एकीकृत स्थिरता मिसनप्रति गहिरो समवेदना र सहानुभूति व्यक्त गरेका छन् ।उनीहरुले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
बन्दियागारा, मध्य मालीमा भएको यस विस्फोटमा सात जना टोगोका नागरिक र मालीका एक ठेकेदारको मृत्यु भएको छ। अन्य तीन जना गम्भीर घाइते भएका मिसनले बुधबार आफ्नो ट्विटर खातामा घोषणा गरेको छ। संयुक्त राष्ट्रका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले गत महिना उत्तरी मालीमा भएको आक्रमणमा घाइते भएका इजिप्टका शान्ति सैनिकको सोमबार मृत्यु भएको पुष्टि गर्नु भएको छ। काउन्सिलका सदस्यहरूले मालीको संक्रमणकालीन सरकारलाई आक्रमणको चाँडो अनुसन्धान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन्।