बागलुङ। धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको ‘भूपि पुरस्कार’ मुस्ताङको कोवाङस्थित ‘भूपि स्मृति थाक पुस्तकालय’लाई प्रदान गर्ने भएको छ। प्रतिष्ठान प्रबन्ध समितिको बिहीबार बसेको बैठकले संस्थागततर्फको भूपि पुरस्कार सो पुस्तकालयलाई प्रदान गर्ने निर्णय गरेको हो। पुरस्कारका लागि आवेदन आह्वान गरिएकामा थाक पुस्तकालय छनोटमा परेको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताए। रु २५ हजार राशिको उक्त पुरस्कार यही पुस १० गते ८७ औँ भूपि जयन्ती समारोहमा समर्पण गरिने बताइएको छ। भूपिको स्मृतिमा स्थापना भई भाषा, साहित्यको उत्थान र सम्वर्धनमा टेवा पुर्याएबापत पुस्तकालयलाई सो पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरिएको हो। विसं २०५७ मा स्थापना भएको सो पुस्तकालयले भूपिको सालिक निर्माणदेखि भूपि जयन्ती समारोह, काव्य गोष्ठीलगायतका साहित्यिक गतिविधि गर्दै आएको छ। प्रतिष्ठानले साहित्यिक/सांस्कृतिक संस्था र स्रष्टालाई आलोपालो गरी बर्सेनि भूपि पुरस्कार प्रदान गर्दै आएको छ। यसअघि विसं २०७६ मा संस्थागततर्फको पुरस्कार थकाली समाज बुटवलले पाएको थियो। सो समाज पनि बुटवलमा भूपिको स्मृतिमा प्रवेशद्वार, सालिक, पुस्तकालय र अक्षयकोष स्थापना गरी भाषा, साहित्यको सेवामा क्रियाशील छ। प्रतिष्ठानले स्रष्टातर्फ गत वर्षको भूपि पुरस्कार स्याङ्जामा जन्मिएका लेखक एवं समालोचक सुकुम शर्मालाई प्रदान गरेको थियो। ‘सिर्जनाका परिधिमा भूपि शेरचन’ समालोचनात्मक कृतिका लागि उनीलाई सो पुरस्कार प्रदान गरिएको थियो। प्रतिष्ठानले जनस्तरबाट सहयोग जुटाएर विसं २०७३ मा पुरस्कार कोष स्थापना गरेको थियो। कोषको ब्याजबाट पुरस्कार सञ्चालन हुँदै आएको प्रतिष्ठानले जनाएको छ। पहिलो भूपि पुरस्कार विसं २०७५ मा साहित्यकार एवं त्रिभुवन विश्वविद्यालयका तत्कालिन शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीलाई प्रदान गरिएको थियो। मुस्ताङको टुकुचेमा जन्मिएका भूपि शेरचन नेपाली साहित्यका प्रसिद्ध कवि हुन्।