हस्तकलाका सामग्रीबाट आयआर्जन गर्दै थारु महिला

काठमाडौँ । सीपमूलक कार्यमा मधेसी तथा थारू समुदायका महिलाको आकर्षण बढ्दै गएको छ। 

रुपन्देहीको सियारी गाउँपालिकाका मधेसी तथा थारु समुदायका महिलाले हस्तकलाका सामग्रीबाट आयआर्जन गर्न थालेका छन्। स्थानीय तहको पहलमा उनीहरूले हराउँदै गएका हस्तकलाको सामग्री उत्पादन गरी आयआर्जनको माध्यम बनाएका हुन्। विशेषगरी गाउँपालिकाको पहलमा ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम’अन्तर्गत यहाँका मधेसी तथा थारु समुदायका महिलाले ‘हस्तकला तालिम’ लिएर त्यतिकै खेर गइरहेको बस्तुबाट आयआर्जनको माध्यम बनाएका छन्।

महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले सियारी गाउँपालिका २ र ३ का महिलाले विभिन्न खोल्सामा पाइने झारपात र खरजस्ता विभिन्न प्रजातिका घासपातबाट बनेको ‘कटरा’लगायत हस्तकलाका सामग्री उत्पादन गरी आयआर्जन गर्न थालेका छन्। उनीहरूले मुढा, म्याट, चकटी, गुन्द्री तथा सजावटका आर्कषक सामग्री बनाएका छन्। यहाँका महिलाले स्थानीय स्तरमा विभिन्न समूह गठन गरी दर्ता गराएर काम गरिरहेको गाउँपालिकाले जनाएको छ।

जङ्गलबाट खर ल्याई सामग्री बनाउँदै आएको स्थानीयवासी यमुना कुमालले भनिन्, “यहाँका महिलाले हस्तकलाका सामग्री उत्पादन गर्न थालेपछि न कसैको टोकाइ खानुपरेको छ, न त कामको खोजीमा बाहिर जानुपर्ने बाध्यता छ।” उत्पादन गर्न लागेको समयका आधारमा सामानको मूल्य निर्धारण गर्ने गरिएको छ। उनका अनुसार ती महिलाद्वारा उत्पादित सामग्री रु २५० देखि ५०० सम्ममा बिक्री हुने गरेको छ।  

हस्तकलाका सामान उत्पादन गर्न थालेपछि मजदूरी गर्ने बाध्यताबाट मुक्ति मिलेको उनको भनाइ छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×