नौ वर्षमा बनेन फोक्सिङ्टार पुल

खोटाङ - सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसी नदीस्थित फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुलका लागि तेस्रोपटक थप भएको म्याद आगामी चैत मसान्तमा सकिँदैछ। विसं २०७३ चैत २२ गते सम्पन्न गर्नेगरी विसं २०६९ चैत २३ गते ठेकेदार कम्पनी गौरी पार्वती वाइपी जेभीसँग सम्झौता भएको फोक्सिङ्टार पुल निर्माणको काम पछिल्लो समय थप गरिएको समयसीमाभित्र पनि सम्पन्न हुने छाँटकाँट छैन।

जिल्लाबाट पूर्वी तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडकखण्डमा पर्ने फोक्सिङ्टारको पक्की पुल निर्माणमा ढिलासुस्ती हुँदाको प्रत्यक्ष असर जिल्लाको आर्थिक क्रियाकलापदेखि विकास निर्माणमा समेत पर्ने गरेको छ। पुल निर्माणमा ढिलासुस्ती हुँदा छ वर्षदेखि फोक्सिङ्टारमा अस्थायी बेलीब्रिज जडान गर्ने तथा झिक्ने क्रममा राज्यको करोडौँ रकम खर्च भइसकेको छ। अस्थायी रुपमा जडान गरिने फोक्सिङ्टारको बेलीब्रिज हटाएपछि कटारी–घुर्मी–जयराम हुँदै यात्रा गर्नुका साथै दैनिक उपभोग्य सामग्री ढुवानी गर्नुपर्ने बाध्यता छ। ठेकेदार कम्पनीको लापरवाहीका कारण पुल निर्माणमा ढिलासुस्ती आवतजावत गर्नदेखि उपभोग्य सामान ढुवानीमा समेत समस्या हुने गरेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष उपिनकुमार राईले जानकारी दिए।

खोटाङ र भोजपुर जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने मध्यपहाडी लोकमार्ग सडकखण्डअन्तर्गत जयरामघाटपछिको अर्को महत्वपूर्ण राजमार्गमा पर्ने फोक्सिङ्टारमा पक्की पुल नहुँदा हरेक वर्ष वर्षात्को समयमा यातायात ठप्प हुने गरेको छ। पुल अभावमा वर्षको करिब छ महिना उक्त सडकखण्ड अवरुद्ध हुँदा जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुने गरेको उपभोक्ताले बताउने गरेका छन्।

फोक्सिङ्टार पुल निर्माणको जिम्मा लिएको ठेकेदारले पटक–पटक आफैँले गरेको प्रतिबद्धता कुल्चँदै आएको छ। गत माघ २६ गते काठमाडौँमा भएको छलफलका क्रममा खोटाङकै दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्र राई र सडक विभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नं १ का प्रमुख इञ्जीनियर कैलाश साहको अगाडि निर्माण ठेकेदार रामकुमार थापाले पछिल्लोपटक थपिएको समयसीमाभित्र जसरी पनि पुलको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×