काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सहकारीमा सर्वसाधारणले गरेको बचत फिर्ता गराउन सरकारले भूमिका नखेलेको भन्दै प्रश्न उठाएका छन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा सांसद गिरीले सहकारीमा बचत गर्नेहरूको रकम फिर्ता गरी त्यो रकम अपचलन गर्नेहरूलाई कानुनी दायरामा ल्याउन माग गरेका हुन् ।
उनले सहकारीका बचतकर्ताहरू सडकमा आउनुपर्ने अवस्था आएको बताउँदै वित्तीय क्षेत्रको अवस्था सही नरहेको बताए । ‘अहिले सहकारीहरू सहकारी सिद्धान्तविपरीत चलाउने, कसैले जग्गामा लगानी गर्ने, कसैले हाउजिङ, कसैले मिडियामा लगानी गर्ने, कसैले गाडी किन्ने, कसैले के गर्ने अनेक गर्ने’ उनले भने, ‘जनताको बचत हिनामिना गरेर, अपचलन गरेर, ती बचतकर्ताहरू ?ँदै सडकमा आउनुपर्ने अवस्था आएको छ ।’
उनले भविष्यमा आफ्ना सन्तानको शिक्षा लगायतमा खर्च गर्ने भनेर गरिएको बचत अपचलन भएको तर त्यस्तो गर्नेहरू कानुनी दायरामा नआएको गिरीको भनाइ थियो । उनले भने, ‘छिटोभन्दा छिटो बचत फिर्ता गर्ने र पैसा अपचलन गर्नेहरूको सम्पत्ति जफत गराएर उनीहरूलाई कानुनको दायरामा ल्याउन तदा?कताका साथ गर्नुपर्ने हो कि होइन ? सरकार के गरेर बसिराख्या छ ?’
उनले बैंकहरूले पनि मनोमानी ब्याज बढाउने गर्दा व्यापार व्यवसायको अवस्था नरहेको बताए । उनले भने, ‘बैंकले त एक प्रकारले भन्ने हो भने मिटरब्याजीकै काम गरिराख्या छ, यो भन्न हिच्किचाउनुपर्ने अवस्था छैन । बैंकबाट व्यापार व्यवसाय गर्छु भनेर लोन लियो भने एक वर्षमा चार–चार पटकसम्म ब्याज वृद्धि गर्दै जाने र मान्छेलाई गरिब, कंगाल बनाएर सबै लिलाममा पठाउने काम भइराखेकाे छ ।’