दाङ - कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन्। उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन्। कपाल सेताम्मे भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन्। अरु विद्यार्थी सरह उनको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ।
दाङको बबई गाउँपालिका–५ स्थित जनज्योति आधारभूत विद्यालयको कक्षा ५ मा दिनहुँ देखिने दृश्य हो यो। उक्त दृश्यले हिजो आज सबैलाई आश्चर्यचकित बनाएको छ। यसले सबैलाई खुसी तुल्याएको छ। बबई गाउँपालिका–५ सिमगैराका ६१ वर्षीय रिमबहादुर खड्का कक्षा ५ मा अध्ययन गर्दै छन्। पढ्न उमेरले छेक्दैन भन्ने चरितार्थ उनले सत्य सावित गरेका छन्।
रिमबहादुर सानैमा विद्यालय जान पाएनन्। विद्यालय जाने उमेरमा उनलाई घरको कामले फुर्सद भएन। कक्षा १ पनि नपढेका रिमबहादुर यस वर्ष सोझै कक्षा ५ मा भर्ना भएर नियमित विद्यालय गइरहेका छन्। आर्थिक अवस्था कमजोर भएकाले बाल्यकालमा विद्यालय गएर पढ्न नपाएको रिमबहादुर बताउछन्। “अरु भाइहरूलाई पढाउन मै व्यस्त रहे, घरको कामबाट कहिल्यै छुटकारा पाइएन”, उनले विगत सुनाए।
रिमबहादुर बुढेसकालमा विद्यालय गएर पढ्न थालेकामा ६१ वर्षीया श्रीमती लालमती खड्का पनि खुसी छिन्। श्रीमानको पढ्ने इच्छामा सहयोग गर्ने उनले बताइन्। “पढ्ने इच्छा पहिल्यैदेखिको हो, यसमा म सहयोग गर्छु, दिउँसो घरको काम म आफैँ गर्छु”, लालमतीले भनिन्। श्रीमान् विद्यालय गएको देख्दा आफूलाई पनि पढ्ने इच्छा जागेको उनको भनाइ छ।