काठमाडौँ । पछिल्लो समय सर्वोच्च अदालत नियमित रूपमा सञ्चालन भइरहँदा नेपाल बार एशोसिएशन भने अशान्त देखिएको छ।
सर्वोच्च अदालतको नेतृत्वविरुद्धको बारको आन्दोलन किर्ते साबित भई विफल भइसकेपछि समेत बारका आन्दोलनकारी समूहले राजनीतिक दल गुहारेका थिए। तर, राजनीतिक दलहरूबाट समेत साथ नपाएपछि आन्दोलनकारीहरूले अनसनका लागि चर्चित डा. गोविन्द केसीसँग हार गुहार गरेका छन्।
पटकपटक विभिन्न मुद्दामा अनसन बस्दै आम जनमानसबीच ख्याती कमाएका डा. केसीलाई प्रयोग गरी नेपाल बार एशोसिएशनका केही आन्दोलनकारी समूहले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई हटाउन 'प्लान बी'को तयारी गरेका हुन्। जबराविरुद्धको आन्दोलन किर्ते साबित भइसक्दा पनि नेपाल बारले राजनीतिक दलहरू गुहार्न छोडेको थिएन् तर, हिजो मात्रै प्रमुख सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सार्वजनिक रूपमै जबराविरुद्ध महाभियोग लगाउने बारे गठबन्धन सरकारभित्र कुनै पनि सोच नरहेको स्पष्ट पारेसँगै शम्भु थापा लगायत बारका आन्दोलनकारीहरू रातारात बिच्किएका हुन्।
अध्यक्ष प्रचण्डले जबराविरुद्धको चलखेलमा राजनीतिक दलले कुनै भूमिका ननिभाउने स्पष्ट पारेसँगै बारका आन्दोलनकारीहरू डा. गोविन्द केसीले अनसन बसेर कमाएको संवेदना बेचेर चलखेलमा सफलता हात पार्ने तयारीमा लागेका हुन्। बारका आन्दोलनकारीहरूले न्यायालय सुधार गर्ने नाममा केही बुँदा मागसहित आन्दोलन थालेको भएपनि आफैले राखेका माग कार्यान्वयन गर्ने बेला आएपछि पछि हटी आफ्नो असली नियतको धोती फुस्काएका थिए। आन्दोलनकारी नाइकेहरूको गलत नियत देखेसँगै न्यायाधीशहरू आन्दोलन छाडी पुनः अदालत फर्किएसँगै आन्दोलनकारीहरू राजनीतिक दलको ढोका ढकढक्याउन पुगेका थिए।
कतैबाट केही सीप नलागेपछि नेपाल बारले डा. गोविन्द केसीले कमाएको संवेदनाको प्रयोग गरेर आफ्नो स्वार्थ सिद्धी गर्न लागेको न्यायालयभित्रैका न्यायकर्मी एवं कानून व्यावसायीहरूबिच यतिबेला व्यापक चर्चा चलिरहेको छ? केसीको नेतृत्वमा हिजो बृहत्त नागरिक आन्दोलनका अगुवाहरू सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा जबराको सम्पत्ति छानबिन गर्न माग गर्दै पुगेका थिए। उनीहरूको माग जबराको मात्रै नभएर उनका आफन्तको पनि सम्पत्ति छानबिन हुनुपर्ने रहेको थियो।
तर, कानून क्षेत्रका विज्ञहरुले भने नेपाल बार अब असंवैधानिक बाटोतर्फ अघि बढेको भनेर आलोचना गरिरहेका छन्। उनीहरूले प्रधानन्यायधाीश जबरालाई हटाउनको लागि गलत बाटो प्रयोग गरेको भनेर पनि आलोचना गरेका छन्। चिकित्सा स्वास्थ्य सुधारको लागि अनसन बस्दै आएका केसी पछिल्लो समय राजनीतिक विषयमा पनि विभिन्न माग र मुद्दा राखेर अघि सर्न थालेका छन्।
केसीलाई अघि सार्न अधिवक्ता ओमप्रकाश अर्यालको भूमिका रहेको बुझिएको छ। सर्वोच्च अदालतमा गोलाप्रथा लागु भैसकेको छ । बारले अघि सारेका मागहरू अदालतमा सुनुवाइ भइसकेको छ। तर, बारका केही अगुवाहरू भने प्रधानन्यायाधीश जबरालाई जसरी भएपनि हटाउने अभियानमा लागेका छन ।
कतिपयले भने बारका पूर्व अध्यक्षहरू शम्भु थापा, प्रेमबहादुर खड्का र वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, बद्रबहादुर कार्की, रमनकुमार श्रेष्ठ लगायतले बारको आन्दोलन असफल हुने भएपछि प्लान बीअनुसार केसीलाई अघि सारिएको समेत बताएका छन्।यतिबेला, राजनीतिक दलहरू जबराविरुद्ध महाभियोग लगाउने पक्षमा नरहेको स्पष्ट भएसँगै अर्को षडयन्त्रमा डा. गोविन्द केसीसँग नेपाल बारले मोलमोलाइ थालेको हो।
र आमजनमानसबीच भने एउटा प्रश्न व्यापक चर्किरहेको छ, 'के डा. गोविन्द केसी वास्तवमै बारका आन्दोलनकारीहरूसँग मोलमोलाइ गर्दैछन् त?