काठमाडौँ - आर्सनलले प्रिमियर लिग फुटबलमा शतप्रतिशत जितलाई निरन्तरता दिँदै शनिबार राति फुलहमलाई २-१ ले पराजित गरेको छ।
एक गोलले पछि परेको आर्सनलले पुनरागम गर्दै फुलहमलाई २-१ ले हराएको हो। यस सिजन आर्सनलको यो लगातार चौथो जित हो। जितपछि आर्सनल ४ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा रहेको छ।
घरेलु मैदानमा आर्सनललाई जित दिलाउन मार्टिन ओडेगार्ड र गाब्रियल मागलहेसले १/१ गोल गरेका थिए। फुलहमका एलेक्जान्डर मिट्रोभिचले गोल गरेका थिए।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५६ औं मिनेटमा मिट्रोभिचले गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए। तर अग्रता लामो समय टिकेन।
६४औं मिनेटमा ओडेगार्डले आर्सनलका लागि बराबरी गोल फर्काए। ८५ औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई २-१ को जित दिलाएका थिए।