काठमाडौँ - भारतीय चलचित्र आदिपुरुषको निर्माता कम्पनीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पत्र पठाएर उनले प्रश्न उठाएको चलचित्रको संवादबारे प्रष्टीकरण दिएको छ। आइतबार सो कम्पनीले इमेलमार्फत पत्र पठाएर मेयर शाहलाई पत्र पठाएर प्रष्टीकरण दिएको हो।
कम्पनीकी राधा दासद्वारा हस्ताक्षरित पत्रमा विवादित संवाद माता सीताको जन्मस्थलसँग सम्बन्धित नभएर आम महिला विशेष गरेर भारतसँग सम्बन्धित रहेको कम्पनीले प्रष्टीकरण दिएको छ। सीतालाइ भारतीय छोरी भनेर सो चलचित्रमा उल्लेख गरेपछि मेयर साहले सो शब्द नसच्चाएसम्म काठमाडौंमा भारतीय चलचित्र चलाउन नदिने घोषणा गरको केही घण्टामै कम्पनीले प्रष्टीकरण दिएको हो।
कम्पनीले कुनै पनि किसिमले नेपाली जनताको भावनामा ठेस पुर्याउने चलचित्रको उद्देश्य नरहेको बताउँदै माफीसमेत मागेको छ। यस चलचित्रलाई कलाको रुपमा बुझिदिन र इतिहासलाई धेरै दर्शकसम्म पुर्याउने चलचित्रको उद्देश्यलाई सहयोग गर्न आग्रह समेत कम्पनीले गरेको छ।
यता बालेनले भने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट नहटाएको भन्दै काठमाडौँ महानगरपालिकामा भारतीय चलचित्र प्रदर्शन निषेध गर्ने बताएका छन्। शाहले सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको बताएका हुन्।
सामाजिक सञ्जालमार्फत उनले भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन ३ दिन पहिले आह्वान गरेको स्मरण गरेका छन्।