काठमाडौँ - म्यानचेस्टर युनाइटेडले डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सनलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको छ। आयाक्स, टोटनहम, इन्टर मिलान र ब्रेन्टफोर्डका खेलाडीले क्लबसँग ३ वर्षको लागि करार सम्झौता गरेका छन्।
‘खेलमा मेरो अझै पनि ठूला उद्देश्यहरू रहेका छन्। त्यसमध्ये धेरै मैले हासिल गर्न सक्छु भन्ने मलाई थाहा छ, र यो मेरो यात्रालाई निरन्तरता दिन उपयुक्त ठाउँ हो,’ ३० वर्षीय खेलाडीले भने, ‘म्यानचेस्टर युनाइटेड एउटा विशेष क्लब हो। म सुरु गर्न उत्साहित छु।’
ब्रेन्टफोर्डसँगको छोटो करार सकिएपछि जुलाई महिनाको सुरुवातमा नै एरिक्सनले युनाइटेडसँग अनुबन्ध हुने सैद्धान्तिक सहमति जनाएको थिए।
नयाँ म्यानेजर एरिक टेन ह्यागको नेतृत्वमा उनी क्लबका लागि दोस्रो नयाँ अनुबन्ध हुन्। टोटनहम र ब्रेन्टफोर्डका लागि एरिक्सनले २३७ प्रिमियर लिगका खेलमा ५२ गोल गरेका थिए। उनले ६६ वटा गोलको अवसर सिर्जना गरेका थिए।