युट्युबमा बढ्न थाल्यो पाइरेसी

काठमाडौँ - पछिल्लो समय नेपाली फिल्महरू पाइरेसीको शिकार हुन थालेका छन्। हल पुगेका दर्शकहरूले टिकटकमा स-सानो क्लिप हाल्ने क्रम बढ्दै गर्दा केहीले लामो समयको भिडियो क्लिप नै हालिरहेका छन्। कोरोना भाइरसको महामारी पश्चात नेपाली फिल्म पनि पाइरेसीको शिकार हुने क्रम बढेको छ।स-सानो क्लिप मात्र टिकटक झैँ युट्युबमा समेत आइरहेका छन्। 

टिकटकमा स-सानो क्लिप भएता पनि युट्युबमा भने केही लामो भिडियो नै आउन थालेका छन्। गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक सुदर्शन थापाले पाइरेसीको समस्या बढेको बताएमा छन्। आफ्नो फिल्म प्रदर्शनको समयमा विभिन्न झमेलामा रहेका कारण पनि धेरै ध्यान दिन नपाएको बताउने सुदर्शनले टिकटकमा भेटिएको लामो भिडियोलाई रिक्वेस्ट गरेर नै हटाउन लगाएको बताए। 

‘हाम्रो फिल्मको पार्ट-पार्ट गरेर आएको भिडियोलाई व्यक्तिगत आग्रह गरेर हटाउन लगाएका थियौँ। यसको लागि चेतना बढाउनु पर्ने आवश्यकता भइसकेको छ’ सुदर्शनले भने। उनले हलले पनि कडाइ गर्नु पर्नेमा जोड दिएका छन्। ‘भिडियो खिच्न नहुने सूचना फिल्म चल्नु अगाडि देखाउनेसँगै मोबाइलले भिडियो खिच्दा कडाइ गर्नु पर्छ' उनले भने। 

उनको फिल्मको १७ मिनेट ५२ सेकेन्डको भिडियो युट्युबमा समेत छ। अर्को प्रतीक्षित फिल्म ‘ए मेरो हजुर ४’ को पनि ५३ मिनेट ४८ सेकेन्डको भिडियो युट्युबमै छ। निर्माण पक्षले भिडियो हटाउन अनेक प्रयत्न गरेका थिए। यद्यपि एक च्यानलबाट हटाएको भिडियो अर्को च्यानलमा अपलोड भएको पाइन्छ। एक पटक भिडियो सामाजिक सञ्जालमा आइसकेपछि जत्ति नै हटाए पनि कही कतैबाट अपलोड हुने गरेको बुझाई कबड्डी ४ का निर्माता मनिराम पोखरेलको पनि छ। ‘एउटाले हटायो भने अर्कोले हाल्ने रहेछन्। पाइरेसी सम्बन्धी चेतना नै बढाउनु पर्ने आवश्यकता छ’ उनले बताए। 

प्रदर्शन भइरहेको फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ को २२ मिनेट ७ सेकेन्ड लामो क्लिप युट्युबमा छ। यो एउटाबाट हटे अर्कोमा अपलोड हुने गरेको छ। एक पटक सोसल मिडियामा आएपछि विभिन्न स्थानमा सेफ हुने भएकाले पनि यसलाई हटाउन असहजता बढ्दो छ। 

पाइरेसी गर्न नहुने र गरेमा आउने परिस्थितिलाई बुझाउन नसक्दा फिल्म हेर्न हलसम्म पुग्ने गरेका दर्शकले रमाइलोको लागि भिडियो क्लिप बनाउने गरेका छन्। टिकटकले सुरुवाती समयमा सर्जकको कामलाई प्रचार गर्न ठूलो भूमिका खेलेको थियो। पछिल्लो समय यो सर्जकका लागि नै सबैभन्दा धेरै घातक प्लेटफर्म बनिरहेको छ। प्रचारप्रसार हुने टिकटकमा आजभोलि फिल्मका दृश्यहरू छताछुल्ल हुन थालेका छन्। 

केही समय अगाडि फिल्म प्रदर्शकहरूको छाता संगठन नेपाल चलचित्र संघले पनि हलमा भिडियो क्लिप खिच्नेलाई कडाइ गर्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो। दर्शकहरुले नबुझ्दा नै यो समस्या बढेको उनीहरूको बुझाइ छ। सुरुवाती समयमा पब्लिसिटी सम्झेका अधिकांश फिल्मकर्मी अहिले यसलाई लिएर चिन्तित बन्न थालेका छन्। प्रचारमा सघाइरहेको टिकटकले प्रचारसँगै समस्या समेत निम्त्याएको छ। हलमा मोबाइल लैजान पाइने हुँदा यो छिट्टै रोकिने सम्भावना पनि छैन। अर्थात् आउँदा दिनमा यस किसिमको समस्या अझै पनि भोग्नु नै पर्ने देखिन्छ। 

पाइरेसी भइरहेको र यसले पार्ने असर र पाइने सजाय बारे चेतना बढाउन सके यो समस्या नियन्त्रण हुने प्रदर्शक, वितरकसँगै निर्माता समेत रहेका नरेन्द्र महर्जन बताएका छन्। उनले आफैँले हलमा निगरानी बढाउने गरेको बताएका छन्। ‘म आफैँ हलमा निगरानी बढाइरहेको छु। कर्मचारीलाई पनि कडाइ गर्न भनेको छु। टिकटकका लागि स-सानो क्लिप बनाउने भएकोले पनि त्यो कम भएता पनि रोकिएको छैन’ प्रदर्शक महर्जनले भने।

नेपाल चलचित्र संघका निवर्तमान अध्यक्ष प्रदीपकुमार उदयले स-सानो क्लिप खिच्ने र भिडियो प्लेफर्ममा हाल्ने फेसन नै भएको बताए। ‘आफू हलसम्म पुगेको र  फिल्म हेरेको जानकारी दिन पनि धेरैले भिडियो खिच्ने गरेका छन्। हामीले बारम्बार नखिच्न आग्रह गरिरहेका हुन्छौँ। हामी सजग र सतर्क छौँ’ प्रदर्शन उदयले भने। ‘हामीले हलभित्र धेरै समय बसेर दर्शकलाई डिस्टर्ब पनि गर्न मिल्दैन। हामीले कडाइ गर्दै फिल्म सामाजिक सञ्जालमा अपलोड गर्न हुन्न भन्ने सन्देश दिएका छौँ,’ उदयले भने।  प्रविधिको विकाससँगै आउने चुनौतीलाई विस्तारै समाधान गर्दै अगाडि बढ्नुपर्ने उनको भनाइ छ। 

यसको समाधानको लागि सचेतनाभन्दा अन्य विकल्प हुन नै सक्दैन। भिडियो पाइरेसीमार्फत फिल्मलाई पर्ने असरलाई दर्शकसम्म पुर्‍याउन सकेमा यसले पुनः प्रचारप्रसारकै लयमा काम समेत गर्न सक्छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×