काठमाडौँ - मार्भल स्टुडियोले हलिउडको प्रतीक्षित सुपरहिरो फिल्म ‘ब्ल्याक प्यान्थर’को दोस्रो श्रृंखलाको ट्रेलर सार्वजनिक गरेको छ। ‘ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर’को यो ट्रेलर केन्ड्रिक लामारको गीत ‘अलराइट’बाट सुरु हुन्छ।
काल्पनिक थलो वाकान्डाको जलीय वातावरण, भविष्यको प्रविधि र सेतो पहिरन लगाएका वाकन्डाहरुको भीडसँगको अन्त्येष्टिजस्तो देखिने तस्वीरसँगै ट्रेलर सुरु हुन्छ। एन्जेला बासेट पात्र घोषणा गर्छिन्, ‘म संसारकै सबैभन्दा शक्तिशाली मुलुककी रानी हुँ र मेरो सम्पूर्ण परिवार सकिएको छ।
शनिबार सान डियागोमा मार्भल स्टुडियोले आयोजना गरेको एक बृहत जमघटमा ट्रेलर सार्वजनिक गरिएको हो। त्यस अवसरमा अफ्रिकी मूलका चर्चित कलाकारले सांगीतिक प्रस्तुति समेत दिएका थिए।
लेखक तथा अघिल्लो श्रृंखला निर्देशन गरेका रायन कुगलर श्रृंखलाका अभिनेता चाडविक बोसम्यानको निधनलाई सिक्वेलमा कसरी चित्रण गरिएको छ।भन्ने देखाउन मञ्चमा उक्लिएका थिए। अगस्ट २०२० मा क्लोन क्यान्सरको कारण अभिनेता बोसम्यानको निधन भएको थियो।
उनले अघिल्लो श्रृंखलामा टिचल्ला चरित्रमा अभिनय गरेका थिए। फिल्ममा लुपिता न्योगो र लेलिता राइटको मुख्य भूमिका रहेको छ। नोभेम्बर ११ (कात्तिक १५ गते)मा विश्वव्यापी रिलिज हुने फिल्म नेपालमा पनि सोही दिनबाट प्रदर्शनमा आउनेछ।