काठमाडाैँ - योर्गन क्लोप भन्छन्, ‘हामी त्यसै युरोपेली च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेका होइनौं, यसमा जादु छैन। हामी यसका लागि हकदार छौं।’
फ्रान्समा शनिबार हुने फाइनलमा लिभरपुलको बाटोमा चुनौती तेर्साएर बसेको हुनेछ रियल म्याड्रिड। चार वर्षअगाडि पनि लिभरपुलले च्याम्पियन्स लिग खेलेको थियो। क्लबका गुरु थिए तिनै क्लोप। किभमा सम्पन्न उक्त फाइनलमा लिभरपुल उही रियलसँग ३–१ ले पराजित रह्यो।
त्यसमा गोलरक्षक लोरिस कुरियसले दुई ठूला गल्ती गरे। अनि मोहम्मद सलाह चोट बोक्दै चाँडै मैदान छाड्न बाध्य रहे। क्लोप त्यो खेल सम्झेर अहिले भन्छन्, ‘त्यो रात हाम्रा लागि खुबै पीडादायी रह्यो।’
तर त्यसको एक वर्षपछि नै लिभरपुलका लागि खुसी फर्केको थियो। म्याड्रिडमा भएको खेलमा लिभरपुलले टोटेनहमलाई हराएर छैटौंपल्ट च्याम्पियन्स लिग जित्यो। त्यो फाइनलका लागि लिभरपुलले आफ्ना सबै समस्या सच्याएको थियो। त्यसपछि त क्लोपले लिभरपुलको लिग उपाधिका लागि ३० वर्षको पखाईमा पनि पूर्णविराम लगाए। सन् २०२० मा लिभरपुल इंग्लिस प्रिमियर लिग जित्न पनि सफल रह्यो। लिभरपुल आएबित्तिकै क्लोप भन्थे, ‘यदि म लिभरपुलमा चार वर्ष रहें भने कम्तीमा एक उपाधि जित्नेमा म विश्वस्त छु।’
अहिले त्यसो भनेको पनि ७ वर्ष भइसक्यो। अहिले तत्काल लिभरपुल एकै सिजन तीन ठूला उपाधि जित्ने संघारमा छ। त्यसमध्ये लिग कप र एफए कप जितिसकेको छ। शनिबार फाइनल खेल लिभरपुलले यो सिजन खेल्ने ६३ औं खेल हुनेछ। त्यसको अर्थ लिभरपुलले आफू सहभागी सबै प्रतियोगिताको अन्तिम खेल खेलेको छ। व्यवस्थापक क्लोप भन्छन्, ‘च्याम्पियन्स लिग सफलताविना पनि हाम्रा लागि यो सिजन राम्रो रहने छ। यदि हामी च्याम्पियन्स लिग जित्न सक्यौं भने हाम्रा लागि यो सिजन वास्तवमै उत्कृष्ट रहनेछ।’
लिभरपुल सम्हालेयता क्लोपले ६ ठूला उपाधि जितिसकेका छन्।
लिभरपुलको यो यात्राको श्रेय उनै क्लोपलाई मात्र जान्न। यसका लागि धेरैलाई धन्यवाद दिनुपर्ने हुन्छ। त्यसमध्ये एक हुन्, क्लब छाड्न लागेको स्पोर्टिङ डाइरेक्टर मिचेल एडवार्ड्स। उनले ट्रान्सफर मार्केटमा खुबै मज्जाले खेल्दै एकपछि अर्को उत्कृष्ट खेलाडी अनुबन्ध गर्न मदत गरेका छन्। पूर्व खेलाडी जिमी कारिघर भन्छन्, ‘सबैभन्दा ठूलो श्रेय त खेलाडीलाई नै जान्छ।’ ‘तर लिभरपुलको सबैभन्दा माथिल्लो पदमा त्यस्ता व्यवस्थापक छन्, जसलाई विशेष मान्न सकिन्छ।’