काठमाडौँ - बेल्जियन ३० वर्षीय गोलकिपर थियाबट कोर्टवा यतिबेला आफ्नो करियरको उचाइमा रहेका छन्। गत सिजन रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका उनी यो उपाधि जित्ने सीमित बेल्जियन खेलाडीहरू मध्ये एक हुन्।
गत सिजन लस मेरेङ्गसका लागि उत्कृष्ट फर्ममा रहेका उनले बेल्जियमको नम्बर वानको जर्सीका लागि सबै प्रतिस्पर्धीहरूलाई पछि परका छन्। गत जुनमा भएको फोर नेसन्स लिगका खेलमा बेल्जियमले उनलाई निकै मिस गरेको थियो। सो प्रतियोगितामा बेल्जियमले ६ गोल खान पुगेको थियो।
सन् २०१८ को विश्वकपमा गोल्डन ग्लोबको पुरस्कार हात पारेका उनी बेल्जियमका लागि सबैभन्दा धेरै खेल खेल्ने गोलकिपर पनि हुन्। बेल्जियमले अर्को चरणमा स्थान बनाउने हो भने कोर्टवाले क्रोएसियाविरुद्धको खेलमा राम्रो प्रदर्शन गर्न जरुरी रहेको छ।
समूह एफमा बेल्जियम संकटमा रहेको छ। २ खेलमा १ मा जीत र १ मा हार व्यहोरेपछि टोली ३ अंकसहित तेस्रो स्थानमा रहेको छ। आजको खेलमा बेल्जियमले क्रोएसियालाई हराउनै पर्ने बाध्यता रहेको छ।