कास्कीका पाँचवटै पालिकाका पशुमा पूर्ण खोप

काठमाडौँ । रोगको कारणबाट हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि कास्कीका पाँचवटै स्थानीय तहमा पशुमा पूर्ण खोप कार्यक्रम सुरु भएको छ।

गण्डकी प्रदेश सरकारले पशुमा सङ्क्रामक रोग उन्मूलन गरी गुणस्तरीय पशुजन्य उत्पादन सुनिश्चित गर्ने उद्देश्यले आगामी तीन वर्षभित्रमा प्रदेशका ८५ वटै पालिकामा पूर्ण खोप कार्यक्रम कार्यान्वयनको योजनानुसार कास्कीमा यस वर्ष कार्यक्रम सुरु गरिएको हो। अघिल्लो आर्थिक वर्षमा रुपा र माछापुच्छ्रे गाउँपालिकाभरिका पशुलाई खोप लगाएर पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको थियो। प्रदेश सरकार भूमि व्यवस्था कृषि सहकारी तथा गरीबी निवारण मन्त्रालयमातहतको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले स्थानीय तहका पशु शाखासँगको सहकार्यमा पशुमा पूर्ण खोप कार्यक्रम सुरु गरेको केन्द्रका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले बताए। उनका अनुसार विज्ञ केन्द्रका प्राविधिक कर्मचारी कृषकका पशु फार्म तथा गोठमा पुगेर गाई, भैँसी, बाख्रा तथा भेडाको तथ्याङ्क सङ्कलन गर्ने र खोप लगाउन सुरु गरेका छन्।

“महामारीजन्य रोगबाट बचाउन र कृषकले पशुपक्षीमा गरेको लगानीको सुरक्षा र सम्भावित क्षतिलाई रोक्न पशुहरूमा खोप लगाउनु आवश्यक छ”, पाण्डेले भने। खोप कार्यक्रममा भैँसीलाई खोरेत र एचएसविक्यू, भेडाबाख्रामा पिपिआर र खोरेत, बङ्गुरलाई हैजा र कुकुरलाई रेविजविरुद्धको खोप दिइनेछ। अघिल्लो वर्ष पूर्ण खोपयुक्त पालिकामा घोषित पालिकामा समेत खोप कार्यक्रम निरन्तर सञ्चालन हुनेछ। “सुरुआतमा सबै पालिकामा गणक पुगेर पशुवस्तुको तथ्याङ्क यकिन गर्ने काम सकिएको छ। दोस्रो चरणमा आवश्यक खोप व्यवस्था गरी खोपको लगाउन सुरु गर्दछौँ।” वरिष्ठ पशु विकास अधिकृत पाण्डेले भने, “पोखरा र यस आसपासका क्षेत्रमा खोरेत देखापरेकाले व्यावसायिक पशुको पकेट क्षेत्रमा खोरेतविरुद्धको खोप लगाउन सुरु गरेका छौँ।” पोखरा महानगरपालिकामा ४६ र माछापुच्छ्रेमा २० जना ‘भ्याक्सिनेटर’ परिचालन गरिएको र हालसम्म २५ हजार पशुचौपायामा खोप लगाइसकिएको भेटेरेनरी अस्पतालले जनाएको छ। प्राविधिक जनशक्तिको अभावमा सबै पालिकामा एकैपटक खोप कार्यक्रम सञ्चालमा कठिनाइ रहेको बताइन्छ।

सरकारले गण्डकी प्रदेशलाई नै पूर्ण खोपयुक्त बनाएर सङ्क्रामक रोग निर्मूल गर्ने योजना बनाएको छ। कास्कीमा व्यावसायिक पशुपालन बढिरहेको यहाँबाट गण्डकी प्रदेशका विभिन्न जिल्लामा पशुजन्य पदार्थको आयात/निर्यात हुने भएकाले कास्कीबाट खोप कार्यक्रम सुरुआत गरिएको पशु विकास अधिकृत सहदेव पौडेलले बताए। उनले भने, “यहाँ रोग निर्मूल गर्न नसके रोग अन्य जिल्लामा फैलने सम्भावना बढी हुन्छ। सुरुमा कास्कीबाट सुरु गरौँ भन्ने सरकारको योजना हो।” जिल्लाभरका पशुका लागि खोप कार्यक्रम सञ्चालन गर्दा खोरेतको एक लाख २५ हजार, एचएसविक्यू ६० हजार डोज, एन्टिरेविज भ्याक्सिन छ हजार र ८० हजार पिपिआर खोपको मात्रा आवश्यक पर्ने जनाइएको छ।

पूर्ण खोप कार्यक्रम सञ्चालनका लागि चालु आवमा रु. दुई करोड बजेट विनियोजन गरिएको कार्यालयले जनाएको छ। पशुबाट मान्छे र मान्छेबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार र नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचतका लागि समेत खोप कार्यक्रम प्रभावकारी बन्ने भेटेरेनरी अस्पतालले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×