काठमाडौँ - स्पोर्ट्स हब नेपाल प्रालिको आयोजनामा प्रथम स्पोर्ट्स हब ओपन ब्याडमिन्टन प्रतियोगिता अर्को महिना आयोजना हुने भएको छ।
आयोजकले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता साउन ११ देखि १४ गतेसम्म कपन लाखेपोखरीस्थित आयोजकको आफ्नै कभर्डहलमा हुने जानकारी गराएका छन्।
प्रतियोगितामा विभिन्न ७ विधा समावेश गरिएको छ। जसमा पुरुष डबल्स (शीर्ष २० बाहेक), भेट्रान्स ४५ वर्षमाथि, अवकाश प्राप्त (देशी तथा विदेशी) आर्मी र पुलिस, महिला एकल (शीर्ष २० बाहेक), ब्वाइज यू-१७, सुपर भेट्रान्स ५५ वर्षमाथि र स्थानीय स्तरको हुनेछ।
ब्याडमिन्टन खेलको विकासमा युवाहरूलाई आकर्षित गर्ने र नयाँ प्रतिभावान् खेलाडी उत्पादन गर्ने उद्देश्यले यु-१७ लाई प्रतियोगितामा समावेश गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। यु-१७ गल्र्सको हकमा भने महिला खेलाडीहरूको संख्या थोरै हुने अनुमानका साथ महिला एकलमा नै सहभागिता गराउने उद्देश्यले छुटै विधा नराखेको आयोजकले बताएको छ।
करिब १० लाख लागत रहेको प्रतियोगितामा पुरुष युगलको विजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले २० हजार र तेस्रो हुने टोलीले समान ७ हजार ५ सय प्राप्त गर्नेछन् । भेट्रान्स ४५ वर्षमाथिको विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रो हुनेले समान ५ हजार प्राप्त गर्नेछन् । अवकाश प्राप्त, महिला एकल, ब्वाइज यू–१७ र सुपर भेट्रान्सको विजेताले समान २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
दोस्रो हुनेले समान १० हजार र तेस्रो हुनेले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। स्थानीय स्तरको विजेताले १५ हजार, दोस्रोले ८ हजार र तेस्रो हुनेले समान ४ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।