काठमाडौँ - नेपाललाई ८ रनमा अल आउट गरेको युएई आगमी वर्ष दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू–१९ महिला टि२० विश्वकपको लागि छनोट भएको छ। मलेसियामा जारी आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा युएईले अन्तिम खेलमा थाईल्यान्डलाई ६ विकेटले हराउँदै अपराजित रहँदै विश्वकपमा पुगेको हो।
जितको लागि ८५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको युएईले १७.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। युएईकी कप्तान थ्रीर्थ सतिश ३८ बलमा ४ चौकासहित ३८ रनमा अविजित रहिन्।
त्यसअघि किनरारा ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको थाईल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८४ रन बनाएको थियो। थाईल्यान्डकी फनिता मायाले ३९ बलमा ६ चौका सहित सर्वाधिक ४० रन बनाइन्।
६ टोली सहभागी प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले आगमी वर्ष पहिलो पटक हुने यू–१९ महिला विश्वकप खेल्न पाउने प्रावधान थियो। युएई ५ खेलमा शतप्रतिशत जितका साथ शीर्षस्थानमा रहँदै विश्वकपमा पुग्यो।
युएईले भुटानलाई १ सय ६० रन, नेपाललाई १० विकेट, मलेसियालाई ९ विकेट र कतारलाई १० विकेटले हराएको थियो। नेपाललाई १० विकेटले हराउने क्रममा युएईले मात्र ८ रनमा अल आउट गरेको थियो।
नेपाल भने ५ खेलमा ३ मा जित र २ मा हारका साथ बाहिरिएको हो। नेपालले थाईल्यान्डसँग ४९ रनले पराजित हुँदा कतारलाई ७९ रन, भुटानलाई ४ विकेट र मलेसियालाई २५ रनले हराएको थियो।