सांगीतिक ब्याण्ड एक्सिसले देशका प्रमुख चार सहरमा कन्सर्ट गर्ने

काठमाडौँ – सांगीतिक व्याण्ड एक्सिसले देशका प्रमुख चार सहरमा कन्सर्ट गर्ने भएको छ। ‘एक्सिस नेपाल टुर’ नाम दिइएको व्याण्डको कन्सर्ट ललितपुर, भक्तपुर, दमक र काठमाडौँमा हुन लागेको हो।

कन्सर्टको सुरुवात ब्याण्डले आउँदो शनिबार अर्थात नोभेम्बर ४ मा ललितपुरको अपटाउन झम्सिखेलबाट गर्नेछ। व्याण्डका अनुसार कन्सर्ट हेर्न चाहने दर्शकले इ–सेवाबाट टिकट लिन सक्नेछन्।

पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क (पीभीइ नेटवर्क)को प्रस्तुति रहने कन्सर्टमा व्याण्डले ‘तिमी फेरि आउन’, ‘अधुरो प्रेम’, ‘मुस्कान’, ‘मेरो प्रेम’, ‘हे मोरी’, ‘सात समुन्द्र’ र ‘घर गाउँ’लगायतका गीत सुनाउनेछ।

ब्याण्डले दसैँअघि पोखरा, चितवन, बुटवल र झापामा कन्सर्ट गरेको थियो। यी कन्सर्टमा विशेषतः युवा दर्शकको उल्लेख्य उपस्थिति थियो। कन्सर्टमा एक्सिसले पछिल्लो रिलिज ‘पाइला’ पनि दर्शकलाई सुनाएको थियो। सबै कन्सर्ट हाउसफूल भएका थिए।

पीभीई नेटवर्कका विकेश कायस्थका अनुसार दसैँअघिको कन्सर्ट निकै सफल भएको थियो। ‘अबको कन्सर्टमा पनि दसैँअघिको भन्दा अझ राम्रो संख्यामा दर्शकको साथ पाउनेमा ढुक्क छौँ’, उनले भने, ‘कन्सर्टको बीचमा भारतमा पनि कार्यक्रम गर्दा दर्शकको साथ राम्रो पायौँ। सबै ठाउँमा इभेन्टका टिकट बिक्री भएकाले दर्शक उल्लेख्य थिए।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×