काठमाडौँ - अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘सम्झना बिर्सना’को प्रदर्शन मिति पछि सरेको छ। आउँदो जेठ ६ गतेका लागि तोकिएको पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गरिएको निर्देशक निमेष प्रधानले जानकारी दिए।
‘अहिले सबैतिर निर्वाचनको माहोल छ। यो माहोलमा हामीले चलचित्रको प्रमोशन गर्ने समय पाएनौं। हामीलाई पनि रिस्क देखियो’ निर्देशन प्रधानले भने, ‘सोही कारण चलचित्र जेठ ६ गतेबाट पोस्टपोन्ड गरेका छौं।’
वितरकसँग छलफल रहेको बताउँदै भोलिसम्ममा नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने उनले बताएका छन्। उनका अनुसार अब चलचित्र लगत्तै प्रदर्शनमा आउने सम्भावना भने एकदम कम छ। ‘कुनै पनि नेपाली चलचित्रलाई असर नहोस् भन्ने सोच हो। त्यसैले अब सोहीअनुसारको डेट मिलाउँदा केही महिना नै पछाडि धकेलिन्छ होला।’
प्रेमकथामा निर्माण गरिएको चलचित्रको कथा निर्देशक प्रधान स्वयंमले लेखेका हुन्। आदित्य प्रधान र रेविका प्रधान निर्माता रहेको चलचित्रमा आकाश र पूजाका अलावा छुल्ठिम गुरुङ, सुनिल थापा, शिशिर राणा लगायतका कलाकारहरुको समेत अभिनय छ।
‘आदित्य फिल्मस्’को ब्यानरमा निर्माण भएको चलचित्रलाई शिव ढकालले छायांकन, कमल राईले कोरियोग्राफी एवं तारा थापा ‘किम्भे’ले सम्पादन गरेका हुन्।