काठमाडौँ - पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले म्याग्दीमा आरन पेसा पनि लोप हुँदै गएको छ।
विगतमा हँसिया (आसी), कुटो, कोदालो, बञ्चरोलगायतका कृषि औँजार निर्माण गर्ने आरन पेसा समयानुसार व्यावसायिक हुन नसक्दा पछिल्लो समय हराउन थालेको तीन वर्षअघि सो पेसा छोडेर ज्याला मजदूरीका काम गर्न थालेका मालिका गाउँपालिका– ३ का श्यामबहादुर विश्वकर्माले बताए।
अहिलेको परिवेशअनुरुप उपयुक्त आम्दानी नहुने भएपछि युवाले सो पेशालाई छाडदै गएको उनको भनाइ छ। “युवा आफ्नो पम्परागत पेसाभन्दा पनि वैदेशिक रोजगारका लागि आकर्षित बन्न थालेका छन्। दिनभर फलाम पिटेर विभिन्न सामग्री निर्माण गरेअनुसार ज्याला नपाउँदा परिवार पाल्नै मुस्किल भएको छ” उनले भने। गाउँमा म मात्र यो पेसा एक्लै धान्दै आएको थिएँ। दिनरात काम गरे पनि उचित पारिश्रमिक पाइन्न, हातमा ठेला उठेको छ, कसैको सहयोग छैन, तालिमका लागि सरकारी तथा गैरसरकारी संस्थाबाट सहयोग नभएकाले पेसा नै परिवर्तन गरेको उनले बताए।
नयाँ पुस्ताले यस्तो पेसा छाड्दै गएका कारण आरन हराउँदै गएको स्थानीयवासी तोरणलाल विकले बताए। राज्यले अरू पेसा व्यवसायीलाई जस्तै यसलाई पनि सहयोग र आवश्यक व्यवस्था मिलाइदिएको भए जीवन पनि सुधार हुने उनको भनाइ छ। एक पाथी अन्नको भरमा वर्षभरि औजार मर्मत र निर्माण गर्नुपर्ने अवस्था अहिले पनि कायम रहेको उनले बताए। सिलाइमा समाजको व्यवहार र दृष्टिकोण परिवर्तन भए पनि आरन पेसामा भने परिवर्तन हुन नसकेको विश्वकर्माको भनाइ रहेको छ।
आरन पेसा व्यावसायिक बन्न नसक्नु, पेसालाई सम्मान हुने वातावरण नहुनु तथा सरकारले सहयोग नगर्नु जस्ता कारणले यो पेसा ओझेलमा पर्न थालेको बताइन्छ।