साम्बा मंगलबार कतारबाट नेपाल फर्किँदै

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपीएफ फुटबल क्लबकी फरवार्ड साबित्रा भण्डारी(साम्बा)लामो उपचारपछि मंगलबार कतारबाट स्वदेश फर्किँदै छिन्। कतारस्थित विश्वप्रसिद्ध अस्पताल अस्पेटारमा करिब ६ महिनाभन्दा लामो समयको उपचारपश्चात् साम्बा स्वदेश फर्कन लागेकी हुन्। 

कतारमा घुँडाको शल्यक्रिया, फिजियोथेरापी र ग्राउण्ड रिह्याबपछि निको भएर उनी फर्किन लागेकी हुन्। आइतबार भएको अन्तिम परीक्षणमा उनको घुँडामा कुनै समस्या नदेखिएपछि अस्पतालले उनलाई स्वदेश फर्कन अनुमति दिएको हो। 

घुँडामा चोट लागेको झन्डै पाँच महिनाभन्दा लामो समयपछि उनी उपचारका लागि गत असार १२ गते कतार प्रस्थान गरेकी थिइन्। साम्बाको चाहनामा नै अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतारमा उनको उपचारको व्यवस्था मिलाएको थियो। चोटकै कारण साम्बाले एएफसी महिला एशियन कप २०२२ को छनोट खेल गुमाएकी थिइन्। 

राष्ट्रिय महिला लिगका दौरान गतवर्षको फागुन ३ गते साम्बाले दायाँ घुँडामा गम्भीर चोट बोकेकी थिइन्। नेपाल पुलिस क्लबविरुद्धको खेलका क्रममा घाइते भएपछि उनले ७९औं मिनेटमा मैदान छाडेकी थिइन्। विपक्षी गोलकिपर अघि बढेको बेलामा बल चिप गर्ने प्रयासमा ल्यान्डिङमा समस्या हुँदा साम्बाको घुडाँमा चोट लागेको थियो।  

चोटपछि बिएण्डबी अस्पतामा एमआरआई गर्दा उनको दायाँ घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसीएल), मिनिस्कससहित अन्य चोट देखिएको थियो। नेपालमा नै करिब ५ महिना फिजियो गराएपछि उनी कतार पुगेकी थिइन्। उनले शल्यक्रियापछि कतारमा रहँदा ग्राउण्ड रिह्याब ७ साता र फिजियो ६ महिना ३ साता गरेकी थिइन्। 

एन्फाको पहलमा कतार फुटबल संघले उनको उपचार गराइदिएको हो। कतार फुटबलको सहयोगमा पछिल्लो समय विमल घर्तीमगर र विक्रम लामाको उपचार अस्पेटारमा भएको थियो। उपचारपछि विक्रम र विमल मैदान फर्किसकेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×