काठमाडौं - नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य डा देवी नेपालले सतासीधाम साहित्य सङ्गमले आयोजना गरेको कार्यक्रममा साहित्यकार उमानाथ दाहालका तिम्ल्याहा कृतिको विमोचन गरेका छन्।
शिवसताक्षी नगरपालिका–९ दुधेमा शनिबार आयोजित कार्यक्रममा सार्वजानिक भएकका कृतिमा बालगीति कविता सङ्ग्रह ‘बाल संसार’ राष्ट्रिय गीत सङ्ग्रह ‘हाम्रो टोपी’ र कविता सङ्ग्रह ‘स्वानुभूति’ रहेका छन्।
यसअघि दाहालको कथा सङ्ग्रह ‘दश कथा’ बजारमा आएको थियो। शिक्षण पेशाबाट सेवा निवृत्त दाहाल साहित्य र समाजसेवामा पछिल्ला दिनमा सक्रिय छन्। बालगीति कविता सङ्ग्रहमा ९१ कविता छन्। सबै कविता बाल लयमा गाउन सकिने लेकखले बताउनुभएको छ।
यस्तै कविता सङ्ग्रहमा ५० कविता समेटिएका छन्। उक्त सङ्ग्रहका समीक्षक साहित्यकार दिनानाथ सुवेदीले झापाली कविलाई स्वानुभूतिभित्रका कविताले लामो समयदेखिको कविताको प्यास मेट्न सक्ने बताए।
जिल्लाभरका साहित्यकार सहभागी कार्यक्रममा गीतकार हस्त परियार, यदुनाथ दाहालले बाल गीतिसङ्ग्रहको पुतलीको बिहे र राष्ट्रिय गीत सङ्ग्रहको नेपालको माटो गाएका थिए।