काठमाडौँ - राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही प्रशिक्षणका लागि नेदरल्यान्ड्स जाने भएकी छिन्। नेपाल भलिबल संघको पहलमा नेदरल्यान्ड्स जान लागेको अरुणाले बताएकी छिन्। नेदरल्यान्ड भलिबल संघको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेकी हुन्।
पाँच वर्ष अघि राष्ट्रिय टोलीकी सदस्य प्रतिभा मालीले पनि नेदरल्यान्ड्समा प्रशिक्षण लिएकी थिइन्। नेदरल्यान्ड्स भलिबल संघका प्रबन्धक पिटर भान तरेल नेपाल भलिबल संघ निकट रहेर काम गर्दै आएका छन्।
अरुणाले पहिलो पटक औपचारिक रुपमा वैदेशिक प्रशिक्षण लिन लागेको बताइन्। उनले त्यहाँ ३५ दिन सेटरको प्रशिक्षण लिने छिन्। ‘यहाँ गुरुहरुले जति सिकाउनु भएको त्यसकै आधारमा खेल्दै आएकी छु,’ उनले भनिन्,‘ सेटरकै लागि प्रशिक्षण गर्ने अवसर मिलेको छ। यसले खुसीसँगै उत्साहित पनि छु। राष्ट्रिय टोलीलाई पनि फाइदा पुग्ने विश्वास छ।’
अरुणा नेपाली महिला टोलीकी सर्वाधिक सफल कप्तान हुन। उनको नेतृत्वमा नेपालले लगातार दुई पटक एभिसी सेन्ट्रल जोनमा च्याम्पियन बनेको थियो। त्यस्तै साढे दुई वर्ष अघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले रजत पदक जितेको थियो।