गणेशमान स्मृति उद्यान निर्माणका लागि थप एक करोड सहयोग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गणेशमान स्मृति उद्यान निर्माणका लागि नागार्जुन नगरपालिकालाई थप रु. एक करोड उपलब्ध गराउने भएको छ।  

नगर साझेदारी कार्यक्रमअन्तर्गत महानगरपालिकाले नागार्जुन नगरपालिका–६ डाँडा पौवामा निर्माणाधिन सो उद्यानका लागि थप रु. एक करोड उपलब्ध गराउने भएको हो। कामपाले उक्त उद्यान निर्माणका लागि यसअघि नै रु. एक करोड प्रदान गरिसकेको छ। कामपाले एकीकृत विकास कार्यक्रम सञ्चालन गरी उपत्यकालाई समृद्ध सहरका रुपमा विकास गर्न काठमाडौँ उपत्यकाका सबै नगरलाई उद्यान निर्माण तथा हरियाली प्रवर्द्धन कार्यक्रममा सहयोग गर्दै आएको छ।

महानगरको सहयोगमा काठमाडौँ उपत्यकाका १० नगरमध्ये आठवटामा उद्यान तथा हरियाली प्रवर्द्धनका लागि र दुई वटामा धाम निर्माणका लागि काम गरिरहेका छन्। यसअघि नै भएको सम्झौताअनुसार कीतिपुर नगरपालिका–१, २ र १० क्षेत्र समेट्ने गरी युद्ध स्मारक उद्यान निर्माण गरिरहेको छ। कामपाबाट प्राप्त सहयोगबाट शङ्खरापुर नगरपालिकाले वडा नं ९ बज्रयोगिनी मन्दिर क्षेत्रमा हरित उद्यान निर्माण गर्दैछ।
    
त्यसैगरी, कामपाकै आर्थिक सहयोगमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित प्रसिद्ध कागेश्वरी मन्दिर र त्यस वरिपरिको क्षेत्रलाई समेटेर प्रसिद्ध कागेश्वरी धाम निर्माण गरिरहेको छ। गोकर्णेश्वर नगरपालिकाले वडा नं ९ जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति उद्यान क्षेत्रभित्र गोकर्णेश्वर उद्यान निर्माण गर्दैछ। त्यस्तै, बूढानीलकण्ठ नगरपालिकाद्वारा वडा नं ८ हात्तीगौडामा निर्माणाधिन बूढानीलकण्ठ उद्यानका लागि पनि कामपाले सहयोग गरेको छ।

टोखा नगरपालिका–१ बौडेश्वर महादेव क्षेत्रको गुरुयोजनाभित्र समेटिएको बालउद्यान निर्माणमा कामपाको सहयोग छ। तारकेश्वर नगरपालिकामा कामपाको सहयोगबाट वडा नं ३ धाम क्षेत्रमा तारकेश्वर धाम, नागार्जुन नगरपालिका–६ डाँडापौवामा गणेशमान स्मृति उद्यान, चन्द्रागिरि नगरपालिका–१३ कङ्काली मन्दिर क्षेत्रमा मदन भण्डारी उद्यानको निर्माणमा पनि कामपाले सहयोग गरेको छ।

कामपाकै आर्थिक सहयोगमा दक्षिणकाली नगरपालिकास्थित दक्षिणकाली मन्दिर क्षेत्रको निर्माण र संरचनागत व्यवस्थापनका काम भइरहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×