ऐतिहासिकस्थल संरक्षण अभियान सुरु

म्याग्दी - तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी रहेको हालको बेनी नगरपालिकाभित्रका धार्मिक मठमन्दिर, चौतारी पोखरी र ऐतिहासिकस्थलको पुनर्निर्माण तथा संरक्षण अभियान सुरु भएको छ।

म्याग्दीको एक मात्र नगरपालिका बेनी नगरपालिकामा रहेका धार्मिक मान्यता र पर्यावरणीय शुद्धतासँग सम्बन्धित वर–पीपल, चौतारी र पोखरीको संरक्षण तथा मर्मतसम्भारका लागि वडा कार्यालयले अभियान नै सञ्चालन गरेका छन्। 

बेनी–७ ले वडामा रहेका मठमन्दिर, वर–पीपल, चौतारी पोखरीको पुनर्निर्माण तथा संरक्षणका लागि जनप्रतिनिधि र स्थानीयवासीको सहयोगमा अभियान सञ्चालन गरेको वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बताए। आध्यात्मिक विश्वास, वातावरणीय शुद्धता र नगरको सुन्दरतासँग सम्बन्धित यस्ता सम्पदाको संरक्षण गरेर नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक रहेको उनले बताए। उनका अनुसार तत्कालीन पर्वत राज्यको टक्सार (मुद्रा बनाउने ठाउँ) मा रहेको ऐतिहासिक बेनी कोतको पुर्ननिर्माण भइसकेको छ भने बेनी बजार क्षेत्रमा रहेका धार्मिक मठमन्दिर, सत्तल, चौतारी र वर–पीपलको संरक्षणमा वडा कार्यालयले आवश्यक बजेट विनियोजन गरेर पुनःर्निर्माण कार्यलाई अघि बढाएको छ।

यसैगरी, बेनी –६ मा पनि चौतारी पोखरी र मठमन्दिरको पुनर्निर्माण तथा मर्मतसम्हारको काम सञ्चालन भइरहेको बेनी–६ का वडाध्यक्ष कृष्ण बानियाँले बताए। उनका अनुसार बेनी–६ ले गत वर्षदेखि वडाभित्र रहेका पुराना वर–पीपल, चौतारी–पोखरी र पँधेरा–कुवाको संरक्षण अभियानमा करिब पाँच लाख रुपैयाँ बजेट नै खर्च गरेको छ।

पुराना सम्पदाको संरक्षणसँगै नयाँपुस्तालाई जानकारी गराउने गरी वडाभित्र रहेका दशकौँ अगाडिका वर–पीपल, चौतारी, पोखरी र धाराको संरक्षण गरिएको उनले बताए। ग्रामीण वस्तुको सुन्दरतालाई कायम राख्न वर्षौं पहिले रोपिएका वर–पीपल र निर्माण गरिएका चौतारी, पोखरी, कुवा र धारा (पँधेरा) को संरक्षण र मर्मतमा स्थानीयवासीको चासो बढेको वडाध्यक्ष बानियाँले जानकारी दिए।

उनका अनुसार १०० वर्षभन्दा पुराना वर–पीपलका रुख रोप्नेको विवरण संकलन गरी परिवारबाटै संरक्षणको प्रयास गरिएको छ। गत वर्ष पोखरी संरक्षणका लागि गण्डकी प्रदेशबाट प्राप्त वर–पीपल संरक्षण तथा रोपणका लागि रु तीन लाख र चौतारी तथा कुवाका मर्मतसम्भारका लागि रु दुई लाख बजेट खर्च गरिएको उनले बताए। उक्त बजेटबाट थानकपोखरी र जरबुटामा वर–पीपल रोपण र चौतारी निर्माण, छापको घोतघोतको पोखरी संरक्षण गरिएको थियो।

वर–पीपल रोप्ने, चौतारी पोखरी बनाउनेको अभिलेख राख्ने र वडामा रहेका प्राकृतिक तथा ऐतिहासिक सम्पदाको तथ्यांक राख्ने कामसमेत वडाले गरेको छ। वडामा अहिलेसम्मको तथ्यांकअनुसार ५० भन्दा बढी वर–पीपल र चौतारी छन्। 

यसैगरी बेनी–२ ज्यामरुककोटमा पनि धार्मिक तथा ऐतिहासिक खड्ग भवानी कोत परिसरमा भौतिक पूर्वाधार निर्माण गरेर ज्यामरुककोटलाई उजिल्याउने प्रयास गरिएको छ। वडाध्यक्ष यामबहादुर कार्कीका अनुसार ऐतिहासिक खड्गभवानी कोत परिसरमा घेराबार लगाइनुका साथै कोतमा पुग्न भकुण्डे र कन्थराजथानबाट पदमार्ग निर्माण गरिएको छ। ज्यामरुककोट क्षेत्रमा रहेका चैतारी र पोखरीको संरक्षणका लागि स्थानीयसँग वडाले समन्वय गरेर काम अघि बढाइने उनले बताए।

६ वटा स्थानीय तह रहेको जिल्लाका धौलागिरि गाउँपालिकाबाहेक बेनी नगरपालिका, मंगला, मालिका, रघुगंगा र अन्नपूर्ण गरी पाँचवटा स्थानीय तहका १४ वटा वडामा वर–पीपल लगाउने र चौतारी–पोखरी निर्माण गर्ने कामले तीव्रता पाएको छ।

बेनीलगायत केही स्थानीय तहका वडाले बजेट नै छुट्याएर वर–पीपल र चौतारी–पोखरी संरक्षण, मर्मत तथा निर्माण गरेका छन् भने कुनै वडामा स्थानीय सामुदायिक वन उपभोक्ता समूह, समुदाय र व्यक्तिगतरूपमा समेत वर–पीपल लगाउने र चौतारी पोखरी निर्माण गर्ने काम भइरहेको छ। 

त्यसैगरी, ५० भन्दा धेरै पानीका कुवा र पोखरी पुरिएको अवस्थामा भेटिएको वडाले जनाएको छ। स्थानीयवासीको सहयोगमा वर–पीपल मास्न, काट्न, रूखको मौलिकतालाई बिगार्न नदिने र पुरानो भएर जोखिमपूर्ण अवस्थामा पुगेका रुखको वडा कार्यालयबाट अनुमति लिएर हाँगा, काँटछाँट गर्ने जिम्मेवारी दिइएको छ। त्यसैगरी, बेनी–५ पुलाचौरको देउपुर्ने, आँटी पानीपँधेरा सामुदायिक वनमा १०८ वर–पीपलका बिरुवा रोपिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×