काठमाडौँ - दृश्यम २ रिलिज भएको २२ दिन बितिसकेको छ तर फिल्मको कमाई अझै रोकिएको छैन। फिल्मले हालसम्म १९६ करोड भारु कमाएको छ र अब २०० करोड क्लबमा सामेल हुने तयारीमा छ।
योसँगै दृश्यम २ अजय देवगनको तेस्रो सर्वाधिक कमाई गर्ने चलचित्र बनेको छ। दृश्यम २ को अघि मात्र ताना जी र गोलमाल अगेन छन्। यदि दृश्यम २ ले यस्तै कमाइ गरिरह्यो भने चाँडै गोलमाल अगेनको लाइफटाइम कलेक्सनलाई पछाडि छोड्नेछ।
नयाँ फिल्म रिलिज भए पनि दृश्यम २ को कमाईमा खासै फरक परेको छैन। फिल्मको संकलन २०० करोडको आँकडा छुन केही कदम मात्र टाढा छ। यसअघि २०२० मा फिल्म ताना जी द अनसंग वारियरले २७९.५५ करोडको लाइफटाइम कलेक्सन गरेको थियो। यसअघि २०१७ मा आएको उनको फिल्म गोलमाल अगेनले २०५.६९ करोड कलेक्सन गरेको थियो।
घरेलु बक्स अफिसमा यो फिल्मले अहिलेसम्म २०० करोडको आँकडा नछोए पनि विश्वव्यापी कलेक्सनको कुरा गर्ने हो भने अहिलेसम्म २८४.५६ करोडको ग्रस कलेक्सन गरेको छ। वर्ल्ड वाइड कलेक्शनको कुरा गर्ने हो भने यो फिल्म यो वर्ष (२०२२) को सबैभन्दा धेरै कमाउने हिन्दी फिल्मको तेस्रो नम्बरमा परेको छ। फिल्मले अब ब्रह्मास्त्र (४३१ करोड) र द कश्मीर फाइल्स (३४१ करोड) लाई पछ्याइ रहेको छ।
दृश्यम २ को बजेट करिब ६० करोड थियो। फिल्मले मात्र तेस्रो दिनमै ६४ करोड कलेक्सन गरेको थियो। अभिषेक पाठकले निर्देशन गरेको यस फिल्ममा अजय देवगन, तब्बु, श्रेया सरन, अक्षय खन्ना र इशिता दत्त मुख्य भूमिकामा रहेका छन्।