काठमाडौँ - जुलाई २८ देखि भारतको चेन्नाईमा हुन गइरहेको ४४औं चेस ओलम्पियाडमा नेपालबाट १० जना प्रतियोगी सहभागी हुने भएका छन्। ५ महिला र ५ जना पुरुषगरी छनोटमा परेका १० बुद्धिचाल (चेस) खेलाडीहरू सो प्रतियोगीतामा सहभागी हुने भएका हुन्।
चेस पार्कका महासचिव असुन राजकर्णिकारका अनुसार सो प्रतियोगिताको लागि नेपाल बुद्धिचाल संघले करिब १५ दिनअघि राष्ट्रियस्तरको बुद्धिचाल प्रतिस्पर्धामार्फत खेलाडी छनोट गरेको थियो।
जसमध्ये पुरुषतर्फ वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाईं, विवेक थिङ, मिलन लामा, क्षितिज भण्डारी र रूपेश जैसवाल छनोटमा परेका थिए भने महिलातर्फ वर्तमान राष्ट्रिय च्याम्पियन सुजना लोहनी, कीर्तिसरा अधिकारी, अनिशा न्यौपाने, विनीता कपाली र शान्ति धिमाल छनोटमा परेका थिए।
सो प्रतियोगितामा खेलाडीको क्षमताको वर्णानुक्रमअनुसार प्रतिस्पर्धा गर्न पाउने नियम रहेको छ।
४४औं चेस ओलम्पियाड प्रतियोगितामा सहभागी हुन छनोटमा परेका १० खेलाडी यही जुलाई २४ मा चेन्नाई जाँदैछन्।
ओलम्पियाडको आयोजना इन्टरनेशनल चेस फेडरेशनले यसको आयोजना गरेको हो। प्रतियोगिता अगष्ट १० सम्म चल्नेछ। प्रतियोगितामा १८७ देशका चेस खेलाडीहरूले भाग लिँदैछन्। ओलम्पिक्स खेलकुदमा चेस समावेश नहुने हुँदा चेसको लागि हरेक २ वर्षमा ओलम्पियाड टुर्नामेन्ट आयोजना हुँदै आइरहेको छ।
यसअघि सन् २०२० मा रुसको राजधानी मस्कोमा आयोजित ४४औं ओलम्पियाड कोभिड-१९ को कारण स्थगित भएको थियो। यस पटकको ओलम्पियाड पनि मस्कोमा आयोजना गरिएको भए पनि रुस र युक्रेन युद्धका कारण चेन्नाईमा सारिएको नेपाल बुद्धिचाल संघमा आबद्ध बद्रिलाल नेपालले बताएका छन्।
उनका अनुसार नेपालले ३६औं ओलम्पियाडदेखि यस प्रतियोगितामा भाग लिन सुरु गरेको हो। नेपालको यो १६औं पटकको सहभागिता हो।