प्रचण्डले खगराजलाई अघि सार्दा माओवादीमा मतभेद

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी सदस्य समेत रहेका प्रदेश सांसद खगराज भट्टलाई मुख्यमन्त्री बनाउने गरी नेतृत्व परिवर्तन गर्ने भनेर गरेको प्रस्तावप्रति माओवादीमा ‘मतभेद’ देखिएको छ । मंगलबारको बैठकमा प्रचण्डको उक्त प्रस्तावप्रति नेताहरूबिच मतभेद देखिएपछि अर्को दिन निर्णय गर्ने भन्दै बैठक नै स्थगित हुन पुगेको हो ।

बैठकमा अध्यक्ष प्रचण्डले भट्टलाई आगामी दिनमा मुख्यमन्त्रीसमेत बनाउने गरी कांग्रेससँग छलफल गर्ने भनेर प्रस्ताव गरेका थिए । तर प्रचण्डको उक्त प्रस्तावप्रति नेताहरू चक्रपाणि खनाल, जनार्दन शर्मा र देवेन्द्र पौडेल लगायतले असहमति जनाए । खनाल, शर्मा र पौडेलले गलत ढंगले नेतृत्व परिवर्तन गर्न जायज नहुने धारणा राखेका थिए ।

‘सुदुरपश्चिममा यसअघि भर्खर नेतृत्व परिवर्तन भएको छ । फेरि तत्काल अर्को नेतृत्व ल्याउँदा गलत हुन्छ । यो प्रक्रिया सङ्गत पनि हुँदैन र अहिले नेतृत्व लिएका नेताको अपमान हुन्छ,’ असहमति जनाउने नेताहरूले बैठकमा भनेका थिए ।

एक स्थायी कमिटी सदस्यका अनुसार प्रचण्डको प्रस्तावमा प्रभावशाली नेताहरूले रिजर्भेसन राखेपछि अर्को बैठकमा निर्णय गर्ने भनेर बैठक स्थगित गरिएको हो । ‘प्रचण्डको प्रस्तावप्रति मतभेद देखियो’, ती नेताले भने,‘मतभेद देखिएपछि बैठक नै स्थगित भयो ।’ अध्यक्ष प्रचण्डले भट्टको प्रस्ताव गरेपछि उनी भने बैठकबाट बाहिरिएका थिए ।

गत माघ १२ गते नेकपा माओवादी केन्द्रले खगराज भट्टलाई दलको नेताबाट हटाएर सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता परिवर्तन गरेको थियो । माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सांसद मानबहादुर धामीलाई नयाँ संसदीय दलको नेता चयन गरेको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×