धनुषा - प्रदेश २ सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै छ। प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको सभामुख सरोज यादवका प्रेस सल्लाहकार प्रभाकर सिंहले जानकारी दिए।
यसअघि चालू आवका लागि कृषिलाई पहिलो प्राथमिकतामा राखेको प्रदेश सरकारले आगामी आवमा पनि कृषि क्षेत्रलाई नै पहिलो प्राथमिकतामा राखेको बताइएको छ।
यसैगरी, प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ। नीति तथा कार्यक्रममा कृषि र शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्न आफूहरुले सुझाव दिएको नीति आयोगका अध्यक्ष डा. हरिवंश झाले जानकारी दिएका छन्।
कृषि र शिक्षाका साथै प्रदेशभित्र पर्यटन व्यवसाय, उद्योग कलकारखानाको स्थापनालाई विशेष प्राथमिकता दिइएको बताइएको छ।