धनुषा- धनुषामा शुक्रबार हावाहुरीले रुख ढल्दा च्यापिएर दुई बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सवैला नगरपालिका–१२ का महेन्द्र सदाकी आठ वर्षीया छोरी प्रतिमाकुमारी सदा र चन्देश्वर सदाका सात वर्षीय छोरा अरविन्द सदा रहेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिएका छन्।
सबैला–१२ स्थित फकिरचन्द माध्यमिक विद्यालय बरकुर्वाको प्राङ्गणमा रहेको मसलाको रूख ढल्दा दुवै जना टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए। उनीहरुलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए।
बिहीबार रातिदेखि चलेको हावाहुरीले मधेस प्रदेशको जनजीवन प्रभावित भएको छ। यसैगरी धनुषामा हावाहुरीका कारण ग्रामीण भेगमा फुसको घर भएका व्यक्तिहरुको घरको छाना उडाएको र सोको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।