तनहुँका चार सामुदायिक विद्यालयमा विद्युतीय पुस्तकालय निर्माण गरिने

तनहूँ । व्यास नगरपालिकाका चार विद्यालयमा विद्युतीय पुस्तकालय निर्माण गरिने भएको छ । नगरपालिकाले शिक्षा मन्त्रालयको सहकार्यमा नगर क्षेत्रभित्र सञ्चालित चार विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्न लागेको हो । 

विद्यार्थीलाई पछिल्ला विकास प्रविधिमा आबद्ध गरी नवीनतम् ज्ञान उपलब्ध गराउने नीतिबमोजिम विद्युतीय पुस्तकालय स्थापना गर्न लागिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्रराज रेग्मीले जानकारी दिए।

विद्युतीय पुस्तकालय स्थापनाका लागि सबै विद्यालयसँग प्रस्तावना माग गरिएको र विद्यालयहरूले नगरपालिकामा प्रस्तावना पेश गरेको रेग्मीले बताए । “पेश भएका प्रस्तावनाउपर छलफल गरेर विद्यालय छनोट अन्तिम चरणमा पुगेको छ, एक÷दुई दिनभित्रै विद्यालय छनोट भएपछि पुस्तकालय स्थापनाको काम अगाडि बढ्छ”, रेग्मीले भने। विद्युतीय पुस्तकालय स्थापनाका लागि प्रत्येक विद्यालयलाई रु छ लाख ५० हजारका दरले बजेट उपलब्ध गराइनेछ ।     

सूचना र प्रविधिको विकाससँगै विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्ने नीति लिइएको छ । बिनाइन्टरनेट पनि पढ्न सकिने सफ्टवेयरको विकास भएसँगै परम्परातरूपमा सञ्चालन हुँदै आएका पुस्तकालयको विकल्पमा रूपमा विद्युतीय पुस्तकालयको माग बढेको छ । 

नगरपालिकाले तीन विद्यालयमा आइसिटी स्थापना गर्ने भएको छ । ती विद्यालयलाई रु ५० हजारका दरले बजेट प्रदान गरिनेछ । त्यस्तै तीन विद्यालयका लागि विज्ञान प्रयोगशाला र पाँच विद्यालयमा विद्यालय सामग्री खरिदका लागि रु ५० हजारका दरले बजेट उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×