युरो कपको फाइनलमा आज जर्मनी र इङ्ग्ल्याण्ड भिड्दै, दर्शकको उपस्थितिले कीर्तिमान तोड्दै

काठमाडौँ - यूईएफए महिला युरो कपको फाइनलमा आज जर्मनी र इङ्ग्ल्याण्ड भिड्दैछन्। इङ्ग्ल्याण्डस्थित वेम्बली स्टेडियममा राति ९:४५ बजेबाट खेल सुरु हुनेछ।

आज हुने खेलमा घरेलु टोली इङ्ग्ल्याण्ड पहिलो पटक युरो कप जित्ने लक्ष्यमा हुनेछ भने प्रतियोगिताको सर्वाधिक सफल टोली जर्मनी नवौं उपाधिको खोजीमा हुनेछ।

इङ्ग्ल्याण्ड समूह 'ए' को विजेता हो भने जर्मनी समूह 'बी'को। इङ्ग्ल्याण्डले क्वाटर फाइनलमा स्पेनमाथि २-१ गोलअन्तरले जित निकालेको थियो भने सेमिफाइनलमा स्वीडेनलाई ४-० गोलअन्तरले हराएको थियो।

अर्कोतर्फ अस्ट्रियालाई क्वाटरफाइनलमा २-० माथि जित निकालेको थियो भने सेमिफाइनलमा फ्रान्सलाई २-१ गोलअन्तरले हराएको थियो। यसअघि युरो कपको फाइनलमा सन् २००९ मा यी दुई टोली भिडेका थिए। जसमा जर्मनीले ६-२ गोलअन्तरले जित निकालेको थियो।

सन् १९६६ मा पुरुष विश्वकप जिते यता इङ्ग्ल्याण्ड ठूलो स्तरको प्रतियोगिता जितेको छैन। यसपटकको युरो कपको 'लोकप्रियता' पहिलाभन्दा ह्वात्तै बढेको छ। सन् २०१७ को युरोकपका खेलमा कुल २ लाख ४० हजार दर्शक उपस्थित थिए भने यो पटकको सेमिफाइनलका खेल सकिँदासम्म ४ लाख ८७ हजार बढी दर्शक स्टेडियममा उपस्थित भइसकेका छन्।

चरणगत हिसाबले पनि सेमिफाइनलसम्मका हरेक चरणमा कीर्तिमानी संख्यामा दर्शकको उपस्थिति रहेको युरोपेली फुटबल महासंघ (यूईएफए) ले जनाएको छ। त्यस्तै आज वेम्बलीमा हुने खेलमा पनि सबै टिकट बिक्री हुने विश्वास गरिएको छ। उक्त स्टेडियमको क्षमता ८७ हजार २ सय रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×