काठमाडौँ - सुदूरपश्चिमको विशिष्ट मौलिक भाका देउडाका अग्रज गायक तथा सर्जक हरिशचन्द्र कडायतको निधन भएको छ। मस्तिष्कघातका कारण बुधवार उपचारका क्रममा उनको निधन भएको हो। उनको केही समयदेखि अस्पतालमा उपचार भइरहेको थियो।
बझाङ निवासी कडायत लामो समयदेखि देउडा सिर्जना एवं गायनमा सक्रिय थिए। उनको निधनमा देउडा क्षेत्रका कलाकारले दुःख व्यक्त गरेका छन्।
चर्चित संगीत संयोजक विनोद बाजुराली कडायतको निधनमा आफूहरूले देउडा गीत संगीतको एउटा सुपरस्टार गुमाएको बताएका छन्। पछिल्लो पुस्ताका चर्चित देउडा गायक चक्र बमले गायक एवं सर्जक कडायतको निधनमा दुःख व्यक्त गर्दै लेखेका छन्, ‘देउडा क्षेत्रको एउटा तारा अस्तायो। उहाँका सिर्जना कहिले अस्ताउने छैनन्। भावपूर्ण श्रद्धाञ्जलि!’
देउडा गायिका रेखा जोशी लगायतले पनि देउडा क्षेत्रको एक हस्ती गुमाएको उल्लेख गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन्।