नवलपुरमा मतदाता नामावली सङ्कलनमा उत्साह

काठमाडौँ । नवलपुरमा मतदाता नामावली सङ्कलनमा उत्साह देखिएको छ।

“बाबु मेरो यो फाराम भरिदेऊ न !” ७३ वर्षीय बोधराज पाठकले नागरिकता र एउटा फाराम दिँदै आग्रह गरे, “म बूढो मान्छे, अलि सञ्चो पनि छैन, फाराम भरेर फोचो खिचाएपछि घर गएर दबाइ खानुछ।” गैँडाकोट–४ का स्थायी बासिन्दा उनी पहिलोपटक फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि घुम्ती टोली आएको ठाउँ नगरपालिका कार्यालयमा पुगेका थिए।

मुलुकमा गणतन्त्र आएपछि उनले मतदान गरेका छैनन्। “पहिला पहिला त भोट हालेँ तर ६४ सालपछि भोट हालेको छैन” उनले भने, “बिरामी भएर फोटो खिचाउन पाइनँ, परिचयपत्र नबनेपछि भोट हाल्न नपाइने रैछ, त्यसैले मतदान अधिकारीबाट वञ्चित भएँ।” आगामी निर्वाचनमा मतदान गरेर राम्रो उम्मेदवारलाई मतदान गर्ने जनाउँदै मतदाता नामावलीमा नाम दर्ता गराउन आएको उनी बताउँछन्।

यसअघिका निर्वाचनमा आफ्ना छोरा, नातिले मताधिकार प्रयोग गरेको भए पनि आफूले भोट हाल्न नपाउँदा खल्लो लागेको भन्दै अबको निर्वाचनमा असल उम्मेदवार छान्ने गरी मताधिकार प्रयोग गर्ने उनले बताएका छन्।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउने अभियानअनुसार हाल जिल्लाका तीन स्थानीय तहमा घुम्ती टोली खटिएको छ। जिल्लाका आठ स्थानीय तहमध्ये बौदिकाली, हुप्सेकोट, बुलिङटार र विनयी त्रिवेणी गाउँपालिकामा नामावली सङ्कलनको काम सकिएको छ भने अहिले मध्यबिन्दु, देवचुली र गैँडाकोट नगरपालिकामा परिचयपत्रको फारम भर्ने अभियान जारी छ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय कावासोती र जिल्ला निर्वाचन कार्यालय कावासोतीमा पनि नियमित रुपमा मतदाता नामावली सङ्कलनको काम भइरहेको जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालले जानकारी दिए। 

जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयसँगै स्थानीय तहमा सञ्चालन भएको घुम्ती टोलीबाट मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि १६ वर्षीय युवादेखि ९९ वर्षीय ज्येष्ठ नगारिकसम्म पुगेका देखिन्छन्। मतदाता नामावलीमा नाम दर्ता गराउन आउनुभएका गैँडाकोट–१८ बसेनीका ५० वर्षीय हेमलाल आले मगरले यसअघि कहिल्यै पनि मतदान नगरेको बताउँछन्। “भोट हाल्ने बेलामा म सधैँ विदेशमा नै हुन्थेँ, अहिलेसम्म भोट हाल्न पाएको छैन”, मगरले भने, “मेरो छोराछोरी सबैले भोट हालेका छन्, तर मेरो नाम भोटर लिस्टमा नभएपछि अहिले नाम दर्ता गराउन आएको हो।” 

विसं २०७४ मा सम्पन्न भएको आम निर्वाचनपछि मात्रै मगर स्वदेश फिर्ता भएका हुन्। “घर आएको पनि चार वर्ष भइसक्यो तर भोट हाल्ने लिस्टमा नाम लेखाएको थिएन”, मगरले भने, “अहिले नगरपालिकामा टोली आएको छ, गएर नाम भर्नू भनेर वडाध्यक्षले भनेपछि यहाँ आएर नाम टिपाउँदैछु।” नगरपालिकामा टोली आएपछि मात्रै गाउँबाट धेरै मानिसहरू नामावलीमा नाम दर्ता गराउन गैँडाकोट झरेका उनले बताए।

लामो समयदेखि विभिन्न कारणले मतदान अधिकार प्रयोग गर्नबाट वञ्चित भएकाहरूमा पनि मतदान अधिकार उपयोग गर्ने उत्साह जागेको पाइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×