रसुवामा बढ्दै चुनावी माहोल

रसुवा - आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै रसुवामा चुनावी माहोल बढ्दै गएको छ। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार रसुवा जिल्लाको ५ गाउँपालिकाको लागि अध्यक्ष, उपाध्यक्षको साथै २७ वडा समेतमा १४५ जनप्रतिनिधिका लागि ४६५ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

रसुवाका ५ वटै निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको र रसुवामा ११ राजनीतिक दलले उम्मेदवारी दिएका छन्।

यही ११ र १२ गते उम्मेददवारको मनोनय दर्ता भएसँगै आ–आफ्ना पक्षमा मत माग्न नेता तथा कार्यकर्ता उत्साहपूर्वक घरदैलो कार्यक्रमलाई अघि बढाइरहेका छन्। रसुवामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, राप्रपा नेपाल, राप्रपा, मङ्गोल नेसनल अर्गनाइजेसन, नेकपा समाजवादी, ताम्सालिङ लोकतान्त्रिक पार्टी, जन समाजवादी पार्टी नेपालको साथै केही स्वतन्त्र व्यक्तिले उमेदवारको मनोनयन बुझाएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए।

स्थानीय तहको निर्वाचनको निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था पूरा भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए। शान्तिपूर्ण र भयरहित वातावरणमा स्थानीय निकायको निर्वाचन सम्पन्न गराउने साझा दायित्व भएकाले सबै क्षेत्रबाट सहयोग पाउनेमा आफूहरू आशावादी भएको सरकारी अधिकारीले जनाएका छन्।

सुरक्षाका लागि पहिलो पङ्क्तिमा नेपाल प्रहरी, दोस्रो पंक्तिमा म्यादी प्रहरी, तेस्रोमा सशस्त्र प्रहरी बल र चौथो पंक्तिमा नेपाली सेना परिचालन हुने बताइएको छ।    रसुवाका ५ वटा गाउँपालिका क्षेत्रमा ३४ मतदान तथा ५१ वटा मतदान केन्द्रबाट ३८ हजार ५४५ मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए।

स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने ३०० भन्दा बढी निजामती कर्मचारी परिचालित हुने र कर्मचारी खटाउन पूर्व तयारी भइरहेको बताइएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×