स्थानीय तह निर्वाचनमा जरुवा विनाशको सन्दर्भ

महोत्तरी - स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा महोत्तरीका मतदाताले यसपालि प्राकृतिक सम्पदाको संरक्षणका विषयमा जोड दिएका छन्। 

मत माग्न आउने दलका र अन्य उम्मेदवारले प्राकृतिक सम्पदामाथिको अनियन्त्रित दोहनबारे अब स्पष्ट धारणा राख्नुपर्ने मत बलियो बन्दै गएको छ।

“न भुताहा, न जोकाहा...! त्यत्रा भूल (जरुवा पानीका मुहान) थिए, देख्दादेख्दै सबै हराए”, भङ्गाहा नगरपालिका–४ रामनगरका ७० वर्षीय रामप्रताप साहले विलाप गरे। आफ्नो घर नजिकका जोकाहा र भुताहा खोल्सीका असङ्ख्य जरुवाका मुहान सुकेर खङ्कट (रुखा) जग्गा बनेको देखाउँदै साह भन्छन्, “ऊ त्यो जोकाहा झिल (ताल) नजिक मात्रै १० भन्दा बढी ‘भूल’  थिए, देख्दादेख्दै ती सबै हराए, पछिल्ला १० वर्षयता त भूलका मुहान भएका ठाउँमा अब बाह्रैमास कमिलाका गुँड पो देखिन्छन्। 

आखिर यो केले गरायो यसको समाधान के हुन्छ भन्ने प्रश्न गर्दै  साह यसको जवाफ आसन्न निर्वाचनमा उम्मेदवारले दिनुपर्ने बताउछन्। यसबारे पुरानो पुस्तामा चिन्ता र नयाँ पुस्तामा चासो बढेको छ। यी कुरा नयाँ पुस्ताका लागि किंवदन्ती जस्तै भए पनि यसबारे सोधखोज बढ्नुपर्ने मत बढ्दो छ।  

बस्तीमा साह मात्र हैन, उनका समवयी भङ्गाहा–४ रामनगरकै जुगल सादा मुसहर, फेकन ठाकुर, राजवीरसिंह थारू, रघुवर महरा र कारीसिंह दनुवार पनि आफ्नो बस्तीको बडहरी खोल्सीका तीन किलोमीटर दूरीबीच दर्जनौँ सङ्ख्यामा भुल्किरहेको पानीले बनाएको दहमा नुहाएको र जरुवा पानी खाएको  झलझली सम्झन्छन्। 

“किन हराए भूल रु जलाधार किन भए बालुबुर्ज ?” यसपालि चुनावमा यी कुरा उठ्नु र उठाइनुपर्ने दनुवार बताउछन्। आफ्नो ठाउँमा पानीका मुहान मासिँदै गएको बताउने ६० वर्ष उमेर कटेका निकै छन्। 

“ऊ त्यहाँ बालु (बालुवा) थुप्रिएको ढिस्को देखे नि।”, भुताहा खोल्सी छेउको ढिस्को देखाउँदै भङ्गाहा–५ सीतापुरका ७५ वर्षीय योगेन्द्र यादवले भने, “त्यहाँ २०२७ सालसम्म कञ्चन पानीका ठूलठूला दह थिए,  हात्ती नुहाउने दह भनिन्थ्यो, मानिस पस्न डराउँथे।” 

पहिले हात्तीसार पनि भनिने त्यो दहको चारैतिर घँसिलो मैदान रहेको यादव सम्झनुहुन्छ। “तर यस ठाउँमा अहिले भने बाह्रैमास धुलो उड्दै छ”, यादवले विरक्तिँदै भने। रामनगर, पलार, टोकाटोल र थारुटोल बनरा (भङ्गाहा–४ का बस्ती) बीचको रातु नदीमा २०४६ सालसम्म २० भन्दा बढी दह रहेको थारूटोल बनराका बासिन्दा ७५ वर्षीया रामसुनरदेवी राय थारू बताउछन्।

“यहाँ ठूलठूला दह र वरिपरि घँसिलो मैदान थियो, यहीँकै जरुवा पानीले खेतीपाती सबै चल्थ्यो”, नेकपा (एमाले) मधेश प्रदेश कमिटी सदस्य थारूले भने, “हेर्नोस् , अहिले यही ठाउँमा अनियन्त्रित नदी उत्खननबढेर सुख्खा खाल्डैखाल्डा देखिन्छन्।” 

भङ्गाहा–४ कै रातु नदी तट र नदी उकास क्षेत्रसहितको तीन किमी दूरीभित्र अहिले २५ भन्दा बढी क्रसर उद्योग सञ्चालनमा रहेको थारूले बताए। बनरा थारूटोलमा २०६० सम्म विशाल दह थियो। त्यसअघिका कुनै खडेरीमा नसुकेको सो  ‘कदमखाडी’ दह भएका ठाउँमा अहिले बालुढुङ्गा खन्ने क्रसर उद्योगले उडाएको धुलो खानुपर्ने र यन्त्रको चर्को आवाज सुनेर खेप्नुपर्ने नियति बनेको त्यहाँका बासिन्दा बताउँछन्। 

करिब दुई दशकअघिसम्मको यो जलाधार र हराभरा क्षेत्र अब सधैंभरि बुङ्बुङ्ती धुलो उडिरहने मरुभूमिजस्तै बनेको छ। जिल्लामा चुरे पहाडदेखि ३० किमी तलसम्मका नदी तटमा बग्रेल्ती सञ्चालित क्रसरले बालुढुङ्गा निकालेपछि बनेका खाल्डाले यहाँको भूगोल नै कुरूप बनाएको छ। 

चुरेका ढिस्का ढालिने, खहरे खोस्रिएर बालुढुङ्गा निकालिने र वरपरका बुट्यान मासिने क्रमले पानीको सतह गहिरिँदै गएर अब मधेश प्रदेशभरिकै पूर्वपश्चिम राजमार्ग दायाँबायाँका बस्तीमा बर्सेनि हिउँददेखि नै खानेपानीको सङ्कट बढेको भङ्गाहा–७ मेघनाथ गोरहन्नाका बासिन्दा डा विजयकुमार सिंह बताउछन्। 

“हेरिरहनु भएको छ नि, महोत्तरीका बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा चैतमै खानेपानीको हाहाकार पर्न थाल्यो”, विगतमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिमा विज्ञ रहेर काम गरिसकेका डा सिंहले भने, “यो समस्या पर्साको ठोरीदेखि सप्तरीको कञ्चनरूपसम्मकै चुरे काछ र भावर क्षेत्रका बासिन्दाले भोग्दैछन्।” 

भङ्गाहाका ७० वर्षमाथिका नागरिकले व्यक्त गरेका सबै समस्या प्रकृतिमाथिको अनियन्त्रित दोहनले जन्माएको डा सिंहको निष्कर्ष छ। 

प्राकृतिक सम्पदामाथिको अनियन्त्रित दोहनले जिल्लाको उत्तरी क्षेत्रमा बाढीको कटान र मध्य एवं दक्षिणी क्षेत्रमा सुख्खा बालुवा थुपारेर उर्वर जग्गा मरुभूमि बनाइरहेको डा सिंह बताउँछन्। 

चुरे असुरक्षित भएसँगै वनक्षेत्र उजाडिने क्रमले असन्तुलित वर्षा हुने र बर्खेभेलले चुरेको गेग्ग्य्रान दक्षिणी भेगका उर्वर जग्गामा थुप्रिँदै गएको उनले बताए। जिल्लाको उत्तरी क्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा चैतदेखि नै खानेपानीको सङ्कट बढेको गुनासोसँगै यस भेगमा चुरे पहाडी क्षेत्रका ढिस्का, नदीतट , खहरे र नदीउकास क्षेत्रमा बढ्दो उत्खननबारे अब आक्रोश बढेको छ। 

“हामीले न राम्ररी पानी खान पायौँ , न राम्ररी निदाउन”, भङ्गाहा–४ रामनगरकै ४० वर्षीय धनेसी महतो भन्छन् ,“बस्ती छेउमै सञ्चालित क्रसरले अजङ्गका खाल्डा बनाएर सधैँजसो धुलो उडाइरहेको टुलटुल्ती हेरिरहनुपरेको छ।” 

बस्ती नजिकका चरन क्षेत्र, जलाधार क्षेत्र र सामुदायिक वन क्षेत्रमा पछिल्ला चार÷पाँच वर्षयता २५ फिटसम्म गहिरा खाल्डा खनेर बालुढुङ्गा उत्खनन भइरहेको महतोको भनाइ छ। प्रकृतिमाथि अनियन्त्रित दोहन बढ्दै जाँदा अनिकाल, खडेरी, अतिवृष्टि, बाढी र डुबानको पीडा भोग्नुपर्ने अब आपूmहरूको नियति नै बनेको यस भेगका पाका बुद्धिजीवी बताउँछन्। 

“हेर्नुहोस् , यसपालि वैशाख लाग्नु अगावै खानेपानीका मुहान सुके”, नदी, पानीखोल्सी, जरुवा, इनार र चापाकलसहितका पानीका स्रोत सुक्दै गएतर्फ इङ्गित गर्दै बर्दिबास–१४ का बासिन्दा सामाजिक अभियानकर्ता हरि दाहालले भने, “यो सबै प्रकृतिको अनियन्त्रित दोहनबाट मानव सिर्जित समस्या नै हुन्।” 

महोत्तरीको उत्तरी क्षेत्रमा सामान्यतया अत्यन्त राप बढ्ने वैशाख र जेठमा खानेपानीको समस्या हुँदै आए पनि पछिल्ला केही वर्षयता मध्य चैतमै पानीका मुहान सुक्ने गरेका छन्। अब असारमा राम्रो वर्षा नहुउञ्जेल खानेपानीको हाहाकार बढ्दै जाने यस भेगका बासिन्दाको गुनासो छ। प्राकृतिक सम्पदाको उपयोग, संरक्षण र सम्बद्र्धनको नीति बनाउने तथा  तत्सम्बन्धी कानुन बनाएर कार्यान्वयन गर्ने मुख्य जिम्मेवारीका स्थानीय तहहरू यसबारे बेखबरजस्तै बनेका सर्वसाधारणको गुनासो छ। 

“बस्तीबस्तीमा सञ्चालित क्रसरहरूको कानुनी हैसियत के छ रु स्थानीय तहको बिनास्वीकृति त यी  चल्न सक्दैनन्। यो कसले अनुगमन गरिदिने?” अब  मानिसले यसरी प्रश्न तेर्स्याउन थालेका छन्। धेरैजसो ठाउँमा त स्थानीय तहका जिम्मेवार जनप्रतिनिधिले नै क्रसर सञ्चालन गर्दै आएका पाइएको बर्दिवास–६ कृष्णपुरका सामाजिक कार्यकर्ता राजकुमार महतो बताउछन्। जिल्लाका बर्दिबास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रमा अहिले ५० भन्दा बढी क्रसर उद्योग सञ्चालित। यी उद्योगको वैधानिकताबारे प्रश्न उठाउने कुनै निकाय नउभिएको सर्वसाधारणको गुनासो छ। 

“जिल्ला समन्वय समिति र प्रदेशसभाको प्राकृतिक स्रोतसाधन समितिका पदाधिकारी तथा सदस्यहरूले कैयन्पटक उत्खनन क्षेत्रको अनुगमन गर्नुभएको छ, तर  खै कारबाही?” महतोले अजङ्गको प्रश्न सोझ्याउँदै भने, “नतिजा नदेखिने अनुगमनबारे हाँमीले बुझ्ने के हो?” नदी दोहन नियन्त्रणमा स्थानीय तह र  प्रदेशसभासहितका जनप्रतिनिधिमूलक संस्था र प्रहरी- प्रशासन पनि असहयोगी देखिएको आमधारणा बन्दै गएको भङ्गाहा–४ रामनगरका नारायण दाहालको ठम्याइ छ। 

“हेर्नुहोस्, अब अन्न मात्र हैन, पानीबेगर छट्पटाउने दिन आउनेवाला छ”, दाहालले भने, “लाग्दो वैशाखमै पानी भेट्न छाडियो, अब जेठसम्म के होला?” 

बस्तीबस्तीका इनार र चापाकल धमाधम सुकेपछि खान मात्र नभई नुवाइधुवाइसँगै  बस्तुभाउलाई पानी ख्वाउनसमेत निकै सकस परेको बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिकाका सर्वसाधारण गुनासो गर्छन्। प्राकृतिक सम्पदामाथिको निरन्तरको दोहन र जलवायु परिवर्तनको प्रभावको असरले अस्वाभाविक मौसम बन्ने गरेको विज्ञको भनाइ छ। उत्तरी क्षेत्र मात्र नभएर अब मध्य र दक्षिणी क्षेत्रका पानीका स्रोतका मुहान गहिरिँदै गएका छन्। 

चुरे पहाड शृङ्खलाबाट निस्कने नदी क्षेत्रमा बालुवाढुङ्गा उत्खनन गर्नेहरूले ठुल्ठुला गहिरा खाल्डा बनाएको र चुरे क्षेत्रका जलाधार क्षेत्र धमाधम पुरिदै जाँदा नदी, खोल्सी, इनार र चापाकलमा पानीको सतह गहिरिँदै गएर मध्य चैतमै खानेपानीको हाहाकार मच्चिन लागेको विज्ञ बताउँछन्। 

“हामी प्राकृतिक सम्पदाको उपयोग र संरक्षणको कुरामा धेरै लापर्वाह भयौँ”, महोत्तरीमा वर्षौंदेखि जलाधार क्षेत्र र चुरे संरक्षण अभियानमा जोडिँदै आएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादव भन्छन्, “नदीहरूको अनियन्त्रित दोहन, चुरे क्षेत्र र यहाँका जलाधार क्षेत्रको संरक्षण गर्न नसक्ने हो भने दिनदिनै यो सङ्कट बढ्दै जाने छ।”

चुरे क्षेत्रका खोल्साखोल्सी, वनक्षेत्र, नदी, सिमसार क्षेत्र र पोखरी पानीका मुख्य स्रोत भएको र खनिने इनारमा पनि यिनै स्रोतको प्रभाव हुने भएकाले यिनको संरक्षण एवं उपयोग नीति नबनेसम्म पानीको हाहाकार नटुङ्गिने यादवको ठहर छ।  

पछिल्ला केही वर्षयता जिल्लाका बाँके, मरहा, ओक्सी, जङ्घा, भब्सी, रातु र बडहरीसहितका नदीबाट बालुवा, ढुङ्गा अनियन्त्रित तरिकाले खन्ने, चुरे पहाडको दोहन र वन विनाश बढेसँगै जलाधार क्षेत्र संरक्षण नगरिँदा खानेपानीका मुहान चाँडै सुक्न थालेको विज्ञको भनाइ स्थानीय तहले वास्ता नगरेका सर्वसाधारणको गुनासो छ।

“आसन्न स्थानीय तह निर्वाचनमा दल र अन्य स्वतन्त्र उम्मेदवार यसबारे के भन्छन् ?”,  आफुहरूको पहिलो प्रश्न हुने मतदाताको भनाइ छ। 

यता स्थानीय तहका प्रतिनिधिले प्राकृतिक सम्पदाको संरक्षण र उपयोग नीतिको स्पष्ट खाका बनाउन आफूहरू बेखबर नभएको बताएका छन्।  

“हामी प्राकृतिक सम्पदाको संरक्षण र तिनको दीर्घकालीन उपयोग र संरक्षणको नीति बनाउने कुरामा गम्भीर छौँ”, आसन्न स्थानीय तह निर्वाचनमा आफ्नो उम्मेदवारीको सार्वजनिक घोषणा गरिसक्नु भएका  भङ्गाहा नगरपालिकाका निवर्तमान प्रमुख (अहिले चुनाव लड्ने प्रयोजनले राजीनामा गरेका) सञ्जीवकुमार साहले भन्नुभयो, “विकासनिर्माणका योजना र पूर्वाधार विकासका योजना प्राकृतिक सम्पदाहरूको संरक्षणलाई प्राथमिकतामा राखेर बनाइएका छन्  तर यो एक ठाउँको प्रयत्नले मात्र हुन सक्दैन।” यस्ता काममा प्रशासनिक सहयोग नपाइएको साहको गुनासो छ।

यसैगरी प्राकृतिक सम्पदाहरूको संरक्षणबारे मुख्य समन्वयात्मक जिम्मेवारी पाएको जिल्ला समन्वय समितिले पनि अनियन्त्रित उत्खनन नियन्त्रणका लागि अवैध क्रसर उद्योग बन्द गर्न स्थानीय तह र प्रहरी-प्रशासनबीच राम्रो समन्वय नभएको जनाएको छ।

“हामीले पटकपटक उत्खनन् क्षेत्रको अनुगमन गरेका छौँ”, जिसस महोत्तरीका संयोजक सुरेशप्रसाद सिंह भन्छन्,  “तिनका प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तह (नगरपालिका, गाउँपालिका) र स्थानीय प्रशासन (जिल्ला प्रशासन कार्यालय) लाई कयौँ पटक आग्रह गरेका छौँ तर कहीँ कार्यान्वयन हुन सकेका छैनन्।” यसको जरो पहिल्याउन आवश्यक भएको सिंहको भनाइ छ।

प्राकृतिक सम्पदामाथि भइरहेको खुला हमलाबारे सम्बद्ध पक्ष टकटकिने कुराले यसको नियन्त्रण अझ पेचिलो र जटिल बनेको बुद्धिजीवी बताउँछन्। 

आसन्न निर्वाचनको मुखमा अब दलहरूले यसबारे स्पष्ट दृष्टिकोण जनतामाझ राखेर ठोस प्रतिबद्धता जनाए अवस्था सुधार हुने अपेक्षा राख्न सकिने भङ्गाहा–३ का बासिन्दा समाजशास्त्री शिवराज दाहाल बताउँछन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×