काठमाडौँ - रग्बी एसियाका अध्यक्ष काएस अल धलाइ बिहीबार नेपाल आइपुगेका छन्। दशरथ रंगशालामा शनिबारदेखि हुने यू-१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपका लागि उनी नेपाल आएका हुन्।
दुई दिने प्रतियोगिता एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा हुँदैछ। नेपाली रग्बीको इतिहासमा पहिलो पटक नेपालमा अन्तर्राष्ट्रिय रग्बी हुन लागेको हो।
एसिया रग्बीका सदस्यसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, नेपाल रग्बी संघका कार्यबाहक अध्यक्ष दीपक देवकोटा, महासचिव चेतनराज गिरीले अध्यक्ष धलाइलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
अध्यक्ष धलाइले यू-१८ रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालले सञ्चालन गर्न लागेकोमा धन्यवाद दिँदै प्रतियोगिता सफल हुने विश्वास ब्यक्त गरेका छन्।
उनले नेपाल एसिया रग्बीको सक्रिय संघमध्ये एक भएको बताउँदै नेपाल गौतम बुद्ध र माउन्ट एभरेष्टको देश भएको हुँदा आउँदा दिनमा पनि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको अवसर पाउने विश्वास व्यक्त गरेका छन्।