काठमाडौँ – पूर्व मुख्यसचिव लीलामणि पौडेलले नागरिकता विधेयक संसदीय समितिमा नपठाई संसदबाट पारित गरिएकोमा आपत्ति जनाउँदै राष्ट्रिय सभाले फिर्ता लिनुपर्ने बताएका छन्।
उनले समाजिक सञ्जालमा लेख्दै २ वर्षसम्म राज्य व्यवस्था समितिमा छलफल गरेर समितिको सुझावसहित सदनमा पुगेको नागरिकता जस्तो संवेदनशील विधेयक एकाएक फिर्ता लिएर नयाँ विधेयक ल्याउनु आपत्तिजनक रहेको बताएका छन्।
‘२ वर्षसम्म राज्य व्यवस्था समितिमा छलफल गरेर समितिको सुझावसहित सदनमा पुगेको नागरिकता जस्तो संवेदनशील विधेयक एकाएक फिर्ता लिएर नयाँ विधेयक ल्याउनु र समितिमा दफावार छलफलमा नपठाई ‘हुन्छ र हुन्न’ भन्दै पास गर्नु आपत्तिजनक छ।’ उनले सामाजिक सञ्जालमा उनले लेखेका छन्।
पौडेलले यो विधेयक राष्ट्रिय सभाले फिर्ता गर्नुपर्ने बताएका छन्। ‘विधेयक राष्ट्रिय सभाले फिर्ता गरोस्! विधेयकलाई सार्वजनिक बहसमा ल्याएर आम नागरिकले पनि विधेयकका बारेमा आफ्नो विचार संसदमा अभिलेख गर्न सक्ने र समितिमा पुन छलफल गराइ सुझाव लिएर सांसदले लिखित रुपमै आफ्नो मत स्वतन्त्र ढङ्गले राख्न पाउने गरी पारदर्शी मत विभाजन गराएर विधेयक पास गराऊ सरकार!’ उनले भनेका छन्।
चीनका लागि पूर्व नेपाली राजदूतसमेत रहेका पौडेलले दलहरूको विकल्प भन्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने र वैकल्पिक शक्ति भन्नेहरुलेसमेत नागरिकता जस्तो राष्ट्रको सर्वोपरि चासोको विषयमा आफ्नो धारणा सार्वजनिक गर्न नसकेको भन्दै प्रश्न उठाएका छन्।