काठमाडौं । सहकारी ठगी प्रकरण छानविन गर्न संसदीय समिति गठनको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन शीर्ष नेताहरुको बैठक बस्दैछ । आइतबार बस्ने भनिएको बैठक सोमबारलाई सारिएको थियो । कार्यदलमा भएका सहमति र टुंग्याउन बाँकी विषयमा छलफल गर्न आज बिहान बालुवाटारमा बैठक बस्न लागेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेता सहभागी हुनेछन् । यसअघि शनिबार बसेको कार्यदलको बैठकमा ऋण दिने सहकारी संस्था र ऋण लिने कम्पनीको नाम उल्लेख गर्ने सहमति भएको थियो । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले शीर्ष नेतासँग बसेर कार्यादेश टुङ्ग्याउन भएको समझदारीअनुरूप बैठक बस्न लागेको जानकारी दिए ।