नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक माघ २८ गते प्रज्ञा भवन कमलादीमा बस्ने

काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक प्रज्ञा भवन कमलादीमा बस्ने भएको छ। बैठक माघ २८ गते (भोलि) बोलाइएको छ।
माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले केन्द्रीय समितिको बैठक बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने जानकारी दिए।

दुई दिनसम्म चल्ने बैठकमा केन्द्रीय समितिलाई पूर्णता, पदाधिकारी चयनका साथै स्थानीय तह निर्वाचन, एमसीसी परियोजना लगायतका विषयमा छलफल हुने सचिव ढकालले बताए। गत पुसमा आठौं महाधिवेशन सम्पन्न गरे पनि माओवादीले अध्यक्षबाहेक अन्य पदाधिकारी चयन गर्न सकेको छैन। गत पुस ११ गतेदेखि १८ गतेसम्म काठमाडौंमा आयोजित आठौं महाधिवेशन २३६ जना केन्द्रीय सदस्य चयन गर्दै सकिएको थियो। ती केन्द्रीय सदस्यहरुको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको थियो।

महाधिवेशनबाट अनुमोदित विधानमा २९९ केन्द्रीय सदस्य हुने भनिए पनि माओवादीले ६३ जना केन्द्रीय सदस्यहरु मनोनित गर्न बाँकी छ।

बिहीबार बस्ने केन्द्रीय समितिको बैठकबाट बाँकी केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी चयन गर्ने तयारी छ। विधान अनुसार पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहनेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×