काठमाडाैँ - विश्वकप फुटबलमा बेल्जियमले सुखद सुरुवात गरेकाे छ। मिची ब्याटसस्वीको निर्णायक गोलमा क्यानडालाई हराउँदै बेल्जियमले कतार विश्वकपमा विजयी सुरुवात गरेको हाे।
अहमद बिन अली स्टेडियममा बेल्जियमले क्यानडामाथि १-० को जित निकालेको हो। क्यानडाले अग्रताकाे माैका गुमाउदा उसले फाइदा उठाउन सफल भयाे। खेलको ११ औँ मिनेटमा क्यानडाले पेनाल्टिको अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा बेल्जियमविरुद्ध अग्रता बनाउने सुन्दर मौका गुमायो।
बेल्जियमका खेलाडीले डिबक्समा ह्याण्ड गरेपछि रेफ्रिले भिएआरको सहायतामा क्यानडालाई पेनाल्टिको अवसर दिएका थिए। तर जोनाथन डेविटले पेनाल्टीको सदुपयोग गर्न सकेनन्। बेल्जियमका गोल रक्षक थिवाउट कोर्टोवाउले पन्च गर्दै जोगाएका थिए।
खेलको ४४ औँ मिनेटमा मिची ब्याटसस्वीले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० ले अग्रता बनाएको बेल्जियमले दोस्रो हाफमा गोल गर्न नसक्दा १-० को जित दर्ता गरेको हो।