काठमाडौँ - आधाभन्दा धेरै इंग्लिस फुटबल क्लबसँग समर्थकलाई बेच्ने किट (जर्सी, क्याप, स्कार्फलगायतका सामग्री)को अभाव छ। जर्सी समर्थकका लागि निकै महत्वपूर्ण हुने गरेको छ। समर्थकले क्लबको समर्थनका लागि जर्सी किन्ने र खेल हेर्न जाँदा लगाउने चलन छ।
तर इंग्ल्याण्डका प्रिमियर लिग खेल्नेसहित ९२ वटा क्लबमध्ये ४४ क्लबसँग मात्रै २०२२/२३ का लागि सामग्री रहेका छन्। क्रिस्टल प्यालेस र लीड्स युनाइटेड जस्ता क्लबले नयाँ सिजन सुरु हुनै लाग्दा पनि समर्थका लागि किट बिक्रीमा राख्न सकेका छैनन्।
४४ टिमसँग होम र अवे दुवैको सामग्री तयार रहेको छ। त्यस्तै २२ टिमसँग होम किट मात्रै र ७ टिमसँग अवे किट मात्रै छ। १९ टिमसँग कुनै पनि किसिमको सामग्री उपलब्ध भएको छैन। एसियामा रहेका उद्योग कोभिडका कारण बन्द भएकाले इंग्ल्याण्डका फुटबल किटको अभाव भएको जनाइएको छ।
१ समर्थक जसले परिवारका बादबच्चालाई जन्मदिनको उपहारस्वरुप उनीहरुलाई मन पर्ने क्लबको जर्सी किनिदिने सोचेका थिए, तर जर्सी नपाउँदा उनी निराश छन्। स्यान्डी डोमिगोस शिल्पी भन्छन्, ‘बच्चाहरुलाई जर्सी किनिदिने हाम्रो परम्परा जस्तै बनिसकेकोे छ। अब जहिले उपलब्ध हुन्छ, तहिले किनेर दिनेछु।’
लिभरपुल विश्वविद्यालयका फुटबलविद् किरण म्याग्वेरले कोभिडका कारण एसियाका धेरै क्लब प्रभावित भएको बताएका छन्। ‘क्लबहरु कुनै कारखानामा आधारित रहेका छन्। जसको उत्पादन बन्द हुँदा क्लबहरुलाई खेल सामग्री उत्पादनमा समस्या परेको हो।’
त्यो मात्रै नभएर आयात गर्ने तथा कन्टेनर जहाजको समस्याका कारण पनि हाल खेल सामग्री उपलब्ध नहुनुको अर्को कारण रहेको उनले बताएका छन्।उनले पनि खेल सामाग्री उत्पादन र बिक्रिमा ढिलाइ हुनाले समर्थकलाई सिधा असर पर्ने बताएका छन्। उनले भने, ‘मलाई लाग्छ यसको प्रभाव समर्थकलाई धेरै पर्छ। उनीहरु हरेक सिजनमा क्लबबाट यस विषयमा निकै आशावादी हुन्छन्।’
क्लबहरुले भने जति सक्दो छिटो सामग्री बजारमा उपलब्ध गराइ समर्थकमाझ पुर्याउन चाहेको बताएका छन्।