काठमाडौँ । कैलालीको टीकापुरमा निर्माण भइरहेको टीकापुर सतही ढल तथा मानव मलमूत्रीय आयोजनाको काम तीव्रगतिमा हुँदै आएको छ।
सतही ढल निकास र मानव मलमूत्र निकास गरी दुई क्षेत्रमा आयोजनाले काम गर्दै आए पनि ढलका लागि निर्माण हुने नालीको लाइन र खानेपानीको लाइन एउटै ठाउँमा परेकाले समस्या देखिएको हो। नगरपालिकाले देखाएको क्षेत्रमा नाली निर्माणको काम गरिएको बताउँदै उक्त आयोजनाका परामर्शदाता अरुण रोस्याराले खानेपानीको लाइनका कारण नाली निर्माणमा समस्या देखिएको छ भने।
खाने पानीको पाइप निर्माणका बेला टुटफुट भए मर्मतसम्भारका लागि रु. १५ लाख बजेट छुट्याइए पनि खानेपानीको पाइप नै सारेर नाली निर्माण गर्नुपर्नेमा त्यस्तो योजना नबनाइएकाले नाली निर्माणमा समस्या देखिएको उनको भनाइ थियो। “नगरपालिकाले देखाएको जुन लाइन छ त्यसैलाई आधार मानेर हामिले नाली निर्माण गर्ने हो। टीकापुरको पुरानो योजनालाई ध्यान दिएर नाली निर्माण गर्नुपर्दा त्यहीँ ठाउँमा खानेपानीको पाइप पनि परेको छ।”
परामर्शदाता अरुणले भने, “यसमा हाम्रो कुनै कमजोरी छैन। जस्तो डिजाइनमा छ, त्यही बमोजिम हामीले काम गर्ने हो।” उनले नाली निर्माण गर्दा सडकको बीचमा परेमा मात्रै कल्भर्ट निर्माण गरिने र सामाग्री ल्याउँदा भत्किएको संरचना पनि आयोजनाले नै नबनाउने बताए। खानेपानीको पाइप लाइन बीचमा पारेर नाली निर्माण गर्न थालेपछि स्थानीयवासीले विरोधसमेत गरेका थिए। उनीहरूले नाली निर्माण गर्दा पाइपलाइन बीचमा भएको अवस्थामा भोलिका दिनमा पाइप टुट्फुट भए नाली नै भत्काउनुपर्ने परिस्थिति आउने भन्दै विरोध गरेको स्थानीयवासी रामबहादुर विष्टको गुनासो थियो।
साथै, आयोजनाले नाली खन्दा निस्केको माटो पनि बाहिर लैजाने गरेको भन्दै स्थानीयवासीले आक्रोश पोख्दै आएका छन्। आयोजनाको चरम लापरबाही रहेको अर्का स्थानीयवासी छत्र मल्लले बताए। “आयोजनाले ढलान गरेर आरसिसी नाली निर्माण गर्दै जाँदा बाहिरबाट सिमेन्टको लेप मात्र लगाउँदै आएको छ।” उनले भने, “यसरी बाहिरबाट सिमेन्टको लेप लगाएको नाली दीर्घकालीन होला त? अनि निर्माण कम्पनीले नाली खन्दा निस्केको माटो व्यक्तिको घरमा पुर्याउनाका साथै बिक्रीसमेत गरेको पाइएको छ।”
नाली विस्तारका लागि विसं २०७७ पुस १५ गते रु ६० करोड ८९ लाख ३ हजार ६५२मा तुँदी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको थियो। निर्माण कम्पनीले २०७९ पुस १५ सम्म आयोजनाको काम सम्पन्न गर्ने गरी सम्झौता गरेको तर दीसा पिसाबबाट मल उत्पादन गर्ने उद्देश्यका साथ निर्माण भइरहेको संरचनाको काम भने गत पुस १५ गते नै सम्पन्न गर्नुपर्ने थियो।