काठमाडौँ - कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडूले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगसम्बन्धी प्रस्ताव सिफारिस समितिमा नाम दिएसँगै सदन सञ्चालन हुने विश्वास व्यक्त गरेका छन्।
संसद्को आजको बैठकपछि बाहिरिने क्रममा सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले लामो समयदेखि सदनमा अवरोध भइरहेको अवस्थामा एमालेले सिफारिस समितिमा रहने सदस्यको नामावली पठाएको विषयलाई आफूहरुले सकारात्मक रूपमा लिएको उल्लेख गरे। मन्त्री बडूले भने, “उहाँहरुले नाम पनि दिनुभएको छ। हुन्छ र हुन्नको प्रक्रियामा नाराबाजी भए पनि समर्थन नै छ, अब प्रक्रिया अगाडि बढ्छ। अब संसद् सञ्चालन होला कि भन्ने आशा बढेको छ।” संसदभित्र जनताका सरोकारसँग जोडिएका नागरिकतालगायत अत्यन्त महत्पूर्ण विधेयकलाई अगाडि बढाउन प्रमुख प्रतिपक्षी दलको सहभागिता आवश्यक रहेको बताउँदै मन्त्री बडूले प्रतिपक्षीको सहयोग भएमा सदनलाई प्रभावकारी ढङ्गले अगाडि बढाएर जनतासँग जोड्न प्रतिबद्ध रहेको बताए।
सदन सधैँ अवरुद्ध भइरहने हो भने जनताबाटै प्रश्न उठ्दै जाने भएकाले यसलाई भरपुर चलायमान बनाएर लैजानुपर्छ भन्ने सरकारको धारणा रहेको मन्त्री बडूको भनाइ छ।