काठमाडौं - भोजपुरको आमचोक गाउँपालिका–१० स्थित दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर सोही गाउँपालिका–६ देवानटार बस्ने २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राईको बुधबार दिउँसो मृत्यु भएको छ ।
सिन्धुली, दुधौली नगरपालिका–१३ स्थित सान्दाने खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही नगरपालिका–१३ लेखडाँडा बस्ने सुरज मगरको छोरा ८ वर्षीय श्रवण मगरको बुधबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको नगर अस्पताल सिर्थौली दुधौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।
रूकुम पश्चिम, वाफिकोट गाउँपालिका–४ छिनखेतस्थित फोहोर पानी जम्मा हुने खाडलमा डुबेर दैलेख भगवतीमाई गाउँपालिका–५ घर भएकी याम कुमारी थापाको छोरा ५ वर्षीय हिमेश थापाको बुधबार साँझ मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।