काठमाडौँ - काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आरक्षण सिटमा अन्य यात्रु बोक्ने १९ वटा सार्वजनिक भाडाका बसलाई कारबाही गरेको छ।
उपत्यकाको विभिन्न स्थानमा गरेको विशेष अभियान अन्तर्गत सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले सार्वजनिक सवारीमा आरक्षण सिट लागू भए, नभएको अनुगमन गर्ने क्रममा १९ वटा यात्रुवाहक बसलाई ३/३ हजारका दरले जरिवाना तिराएको हो।
उपत्यका बाहिर चल्ने ४ वटा यात्रुवाहक बस, उपत्यकामा चल्ने १४ वटा यात्रुवाहक बस र १ वटा माइक्रो बसलाई नियमानुसार कारबाही गरिएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले नेपाल प्रेसलाई जानकारी दिएका छन्।
महिला, अशक्त तथा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति गरेर ठुलो सार्वजनिक सवारी साधनमा ४ सिट र सानो सवारी साधनमा २ सिट आरक्षणका लागि छुट्टाइएको हुन्छ।