काठमाडौँ - युक्रेन फिफा विश्वकप छनोटको प्ले अफ फाइनलमा पुगेको छ। बुधवार राति भएको खेलमा स्कटल्याण्डलाई ३-१ गोल अन्तरले हराउँदै युक्रेन प्ले अफ फाइनलमा पुगेको हो।
अब युक्रेनले प्ले अफ फाइनलमा वेल्सको सामना गर्नेछ। विजेताले कतार विश्वकपमा स्थान पाउने छन्।
युक्रेनको जितमा एन्ड्री यार्मोलेन्को, रोमन यारेमचुक र अर्टिा डोभ्यकले गोल गरेका थिए। स्कटल्यान्डका कलुम म्याकग्रेगरले एक गोल फर्काए। खेलको ३३औं मिनेटमा एन्ड्री यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई सुरुआती अग्रता दिलाएका थिए। ४९औं मिनेटमा रोमन यारेमचुकले गोल गर्दै युक्रेनको अग्रता दोब्बर बनाए।
७९औं मिनेटमा कलुम म्याकग्रेगरले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। त्यसपछि इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा अर्टिमले गोल गर्दै युक्रेनलाई सहज जित दिलाएका हुन्।
युक्रेनसँगको हारसँगै स्कटल्यान्डको विश्वकप खेल्ने सपना समाप्त भएको छ। दुई टोलीबीचको खेल यस अघि नै हुनुपर्ने थियो। तर, रुस र युक्रेनबीचको युद्दको कारण खेल रोकिएको र ढिला भएको हो।